सकियो राष्ट्रिय गजल महोत्सवको तयारी

 

नेपाल प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय युवा परिषद्वारा संयुक्त रूपमा आयोजना हुन लागेको ‘राष्ट्रिय गजल महोत्सव’को तयारी पुरा भएको छ । राष्ट्रिय गजल महोत्सव यहि माघ १५ र १६ गते प्रज्ञा भवनमा आयोजना हुँदै छ । नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख तथा महोत्सवका संयोजक प्रा.डा. हेमनाथ पौडेलले प्रज्ञाप्रतिष्ठानको इतिहासमै प्रतिष्ठानको एकल पहलमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय गजल महोत्सवको सबै तयारी पूरा भएको बताएका हुन् ।

महोत्सवमा सहभागी हुने गजलकार, कार्यपत्र प्रस्तोता, समीक्षक र प्रतिनिधिहरूको छनोट र आवास तथा भोजन व्यवस्थापनका साथै सबै आवश्यक तयारी पूरा भएको प्रा.डा. पौडेलले बताए । महोत्सवमा सातै प्रदेशबाट पाँच–पाँच जना प्रतिनिधि गजलकारका साथै उपत्यकाबाट करिब ४० गरी ७५ जना प्रतिनिधि गजलकारको सहभागिता रहनेछ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईबाट १५ माघका दिन बिहान १० बजे महोत्सवको उद्घाटन हुनेछ । उद्घाटन सत्रपछि प्रदेशबाट छानिएर आएका गजलकारहरूको गजल वाचन हुनेछ भने बेलुकी वरिष्ठ गजलकारहरूले गजल सुनाउनेछन् ।

महोत्सवको दोस्रो दिन अर्थात  १६ माघका दिन पहिलो सत्रमा गजलसम्बन्धी बहस हुनेछ । बहसमा ‘नेपाली गजल: परम्परा र प्रवृत्ति’ शीर्षकमा टीकाराम उदासीले कार्यपत्र प्रस्तुत गर्नेछन् भने डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ र घनेन्द्र ओझाले ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गर्नेछन्न्।

अर्को सत्रमा ‘आजको गजल लेखन: चुनौती र दिशा’ विषयमा परिसंवाद हुनेछ । त्यसपछि प्रादेशिक गजल लेखनको अवस्थाबारे प्रतिवेदन प्रस्तुति हुनेछ भने साँझ गजल तरन्नम हुनेछ । तरन्नुममा नेपालगन्जका प्रसिद्ध गजल गायकका साथमा अग्रज गजलकारहरू सम्मिलित हुनेछन् । सोही साँझ गजलसम्बन्धी महत्वपूर्ण घोषणापत्र जारी गर्दै राष्ट्रिय गजल महोत्सवको समापन हुनेछ ।

उक्त महोत्सवमा उद्घाटनका दिन करिब १२ सय र दोस्रो दिन करिब ३ सय जनाको सहभागिता रहनेछ । महोत्सवका अवसरमा प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा आधुनिक नेपाली गजल’ र ‘प्रज्ञा नेपाली बाल गजल’को लोकार्पणसमेत हुनेछ ।