श्रमिकको तत्काल उद्धार र राहतको ब्यवस्था गर्न ट्रेड युनियनको आग्रह

चैत २३, काठमाडौं – नेपाल ट्रेड युनियन काँग्रेसले सिमानामा रहेका नेपाली श्रमिकलाई उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।

युनियनले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर लकडाउन गरेपछि विशेषतः भारतमा श्रम गर्न गएका नेपालीहरू अलपत्र परेको भन्दै उनीहरुको उद्धार र आवश्यक राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो ।

ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्रबहादुर कुँवरले सरकारले सीमामा अलपत्र परेका नेपाली श्रमिकको तत्काल उद्धार गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

महासचिव कुँवरले सरकारले हालै अत्यावश्यक सेवा तथा वस्तु उत्पादन गर्ने कम्पनीलाई खोल्न दिने निर्णय गर्नु र अर्कोतर्फ नागरिकलाई लकडाउनको पूर्णपालना गर्न लगाउने कुरा विरोधाभाषपूर्ण भएको जनाएका छन् ।

अत्यावश्यक सेवा वस्तु उत्पादन गर्नुपर्दा श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी, सङ्क्रमण फैलन नदिन अपनाउनुपर्ने सबै मापदण्डको पालना र राज्यको तर्फबाट प्रभावकारी अनुगमनको व्यवस्था गरेर मात्र सञ्चालनमा ल्याउन नेपाल ट्रेड युनियन काँग्रेसले सरकारसँग माग गरेको छ ।