शीतलहरले सप्तरीमा १४ जनाको मृत्यु

 

पुस २४,सप्तरी -अत्याधिक चिसोले सप्तरीमा आइतबार दुई जना सहित हाल सम्म १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार कञ्चनरुप नगरपालिका ७ का ६१ वर्षीय उत्तम मरिक डोम र वडा नम्बर २ बरमझियाका ५५ वर्षीय बेचन शेखको चिसोका कारण मृत्यु भएको हो ।

यसैगरी शनिबार पनि एक काखे बालक सहित पाँच जनाको मृत्यु भएको थियो । शीतलहरबाट प्रभावित भई निमोनिया लागेका कञ्चनरुप नगरपालिका ४ जगतपुर निवासी ललित चौधरीका ७ महिने छोरा गणेशलाई उपचारका लागि बिराटनगर लग्ने क्रममा शनिबार बाटोमै मृत्यु भएको परिवारले जनाएको छ । अत्याधिक शीतलहरले सप्तरीका एक मात्र सरकारी अस्पताल सगरमाथा अञ्चल अस्पतालमा बिरामीको संख्यामा वृद्धि भईरहेको छ । बिरामीको चाप बढेपछि कतिपय बिरामीलाई भूईँमा राखेर समेत उपचार थालिएको छ ।

यता अस्पतालमा भर्ना हुन आउनेहरुमा बढी बालबालिका र वृद्धवृद्धा रहेको अस्पतालस्थित आकस्मिक कक्षले जनाएको छ । बालबालिकाहरुमा कोल्ड डाईरिया, फिभर, निमोनिया जस्ता रोगको लक्षणहरु देखा परेको अस्पताल प्रमुख डा. दयाशंकरलाल कर्णले जानकारी दिए ।
नयाँपत्रिकाबाट