शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी

माघ ९, काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा मछिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मछिन्द्रले पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

मछिन्द्रको जितमा रञ्जित धिमालले निर्णायक गोल गरे । उनले खेलको ५२ औँ मिनेटमा करीब ३० यार्डबाट प्रहार गरेको फ्रि किकबाट उत्कृष्ट गोल गरेका थिए ।

जितसँगै मछिन्द्रले आठ खेलमा १६ अङ्क जोड्दै शीर्षस्थानको त्रिभुवन आर्मी क्लबसँग अङ्क बराबरी गरेको छ ।

अङ्क तालिकामा मछिन्द्र गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । त्यस्तै पराजित पुलिसको आठ खेलमा ११ अङ्क छ ।

पुलिस अङ्क तालिकाको छैटौँ स्थानमा छ ।