विद्युत उत्पादन घट्न थाल्यो अब लोडसेडिङ के होला ?

माघ ३,काठमाडौं – नदीमा पानीको सतह कम हुँदै गएपछि विद्युत उत्पादन दिन प्रतिदिन घट्न थालेको छ । चिसो मौसमका कारण विद्युतको माग बढ्दै जाने तर उत्पादन भने घट्ने भएकाले विद्युत व्यवस्थापन कार्य भने झनै चुनौतीपूर्ण बन्दै गएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार हाल ‘रन अफ दि रिभर’मा आधारित सबै आयोजनाबाट हुने विद्युत उत्पादन घटेको छ । जसले गर्दा विद्युतको माग र आपूर्ति बीचको सन्तुलन कायम गर्न चुनौतीपूर्ण हुँदै गएको विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नदीमा पानीको बहाव घटेकाले विद्युत उत्पादनमा कमी आएको बताए । नेपालमा अधिकांश जलविद्युत आयोजना नदीको प्रवाहमा आधारित भएकाले अहिले प्रायः सबैजसो आयोजनाको उत्पादन घटेको उनको भनार्इ छ । उत्पादन घटेपनि लोडसेडिङ भने नहुने उनले बताए । ‘विद्युत उत्पादन घटेको भए पनि सर्वसाधारण उपभोक्ताले लोडसेडिङको समस्या झेल्न नपरोस् भनेर हामी सजग भएका छौं,’ उनले भने, ‘गत वर्षमा जस्तै यस वर्ष पनि उपभोक्ताले लोडसेडिङको सामना गर्नु पर्दैन ।’

प्राधिकरणको आग्रह अनुरूप उपभोक्ताले पिकआवरमा बढी विद्युत खपत गर्ने उपकरण नचलाउने र किफायती बल्बहरू प्रयोग गर्ने गरेको खण्डमा यसबाट लोडसेडिङ व्यवस्थापनमा थप सहज हुने उनको भनार्इ छ । चुहावट नियन्त्रण गर्ने, आमउपभोक्तामा जनचेतना फैलाउने, आयातमा वृद्धि गर्ने, आन्तरिक उत्पादनतर्फ सम्भव भए सम्म सबै विकल्पको प्रयोग गरी लोडसेडिङ हुन नदिने उनले बताए ।
राजधानीबाट