वित्त व्यवस्थापनको तालिम अनलाईनवाट संचालन गर्दैछौ

 

दामोदर रेग्मी

काठमाडौ—देश संघीय संरचनामा प्रवेश गरेपछि संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारहरु बनेका छन् । यो परिवर्तित संरचनामा राजस्व प्रशासन व्यवस्थापन, आर्थिक प्रशासन र लेखापरीक्षण जस्ता सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । यस सन्दर्भमा संघीय संरचानामा सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रमा क्षमता विकासको कार्य कसरी अगाडी बढिरहेको छ भन्ने बारेमा अर्थ मन्त्रालय, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख दामोदर रेग्मी संग इमेल खवर डट का रामहरि शाही समुन्द्रीले गर्नु भएको कुराकानीको केही अंशः


सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले कस्को लागि कसरी काम गर्छ ? 

यसले सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रहरु राजस्व प्रशासन, लेखा प्रशासन र लेखा परीक्षण प्रशासनमा कार्यरत जनशक्तिको क्षमता विकास, वृत्ति विकास को काममा सहयोग गर्नुको साथ साथै उक्त क्षेत्रको कार्यकुशलता वृध्दि, अपेक्षित परिणाम प्राप्तिमा सहयोग गर्ने तथा आर्थिक सुशासनमा सहयोग पुर्याउनु हो ।

संघीय संरचनामा सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रहरु के के छन् ?

संविधानले संघ, प्रदेश र स्थानीय तहका एकल र साझा अधिकारको व्यवस्था गरेको छ । त्यस अनुसार सार्वजनिक वित्त व्यवस्थापन संग सम्बन्धित विषयहरु बजेट तर्जुमा र कार्यन्वयन प्रक्रियाका सम्पूर्ण चक्र, सार्वजनिक खरिद, राजस्व संकलन, लेखा प्रणाली, लेखापरीक्षण, वित्त हस्तान्तरण, आन्तरिक नियन्त्रण सामयिक प्रतिवेदन जस्ता विषयहरुमा सबै तहका प्रशासनिक र राजनीतिक संयन्त्रको क्षमता वृद्धि अहिलेको सामयिक आवश्यकता हो । यी सबै विषयमा क्षमता वृद्धिका कार्यक्रम चलाउनु नितान्त आवश्यक छ ।


तालिम केन्द्रका तत्कालीक कार्यक्रमहरु के के छन् ?

हामीले संघीय संरचनाका विभिन्न तहहरुको आवश्यकता बमोजिम तालिम मोड्युल र पाठ्यक्रमहरु निर्माण गरेका छौं । तालिमलाई मागपक्षको आवश्यकता अनुकुल बनाउने प्रयास गरिएको छ । व्यवहारिक तालिमलाई प्राथमिकता दिने गरी पाठ्यक्रम र श्रोत व्यक्तिको विवरण तयार गर्ने काम भएका छन् । तालिम लिन केन्द्रमै आउनु पर्ने वाध्यतालाई हटाइ कार्यक्षेत्र वा कार्यक्षेत्र नजीकको स्थानमा तालिम दिने व्यवस्थालाई आ.व. २०७५।७६ मा व्यापक रुपमा प्राथमिकता दिईयो । यसलाई यस आर्थिक वर्षमा झनै व्यापकता दिईने छ ।

तालिम केन्द्रका तालिमहरुले भर्खरै अन्तर्राष्ट्रिय स्तरको मान्यता पायो । यसले थप अगाडी वढ्न कसरी सहयोग गर्ने छ ?

हो, तालिम केन्द्रका तालिमहरुले भर्खरै अन्तर्राष्ट्रिय स्तरको मान्यता पायो । यसले हामीलाई थप उर्जाशील, परिणाममुखी भएर गुणस्तरयुक्त तालिम प्रदान गर्न अवसर सिर्जना गरेको छ । यस सन्दर्भमा सार्वजनिक वित्त व्यवस्थापनका सबै अभिलेख र प्रकाशनहरुमा सवैको सहज पहुँच पु¥याउने गरी अभिलेख केन्द्रको शीघ्र संचालन हुने व्यवस्था हुदैछ । परिवर्तित सन्दर्भमा तालिम केन्द्रको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यका साथ पाँचवर्षे रणनीति तर्जुमाको गृहकार्य भैरहेको छ । कक्षामा आधारित तालिमको अतिरिक्त अनलाईन, भर्चुअल, टेलीकन्फरेन्स जस्ता माध्यमबाट समेत तालिम संचालन गर्ने तर्फ तालिम केन्द्र अगाडी बढेको छ ।