वान्टेड आस्था !

एयरपोर्ट चेकिङमा प्रहरीसँग भनाभन भएपछि गायिका आस्था राउत विवादमा तानिएकी छन् ।  प्रहरीले आस्थाका आमाबाबुले प्रहरी कार्यालयमा ल्याउने प्रतिबद्धता व्यक्त गरे उनलाई नेपाल छिर्नासाथ नपक्रिने बताएको छ । 

सेलिब्रेटी जीवनमा जोडिने दुई महत्त्वपूर्ण पाटा हुन्— चर्चा र विवाद । चर्चा सकारात्मक र नकारात्मक दुवै हुन्छन्, तर विवाद प्राय: नकारात्मक नै हुने गर्छन् । एयरपोर्टको सुरक्षा चेकिङमा प्रहरीसँग भनाभन भएको विवादले यतिबेला गायिका आस्था राउत चर्चामा छिन् ।

माघ १ गते बुधबार आस्था भद्रपुर जान दिवा समयमा त्रिभुवन विमानस्थलमा पुगेकी थिइन् । उनी सिक्किममा हुने कार्यक्रमका लागि विमानस्थलबाट भद्रपुर जान लागेकी थिइन् ।

उनलाई आन्तरिक टर्मिनलमा रहेकी प्रहरी जवान रमिला श्रेष्ठले जाँचका क्रममा ज्याकेट फुकाल्न लगाउँदा दुई जनाबीच विवाद भएको थियो । हातमा कफीको कप बोकेर मेटल डिटेक्टिभ एक्सरेमा छिरेपछि आस्थालाई श्रेष्ठले हातको कफी आफूले लिएर पुन: ज्याकेटलाई एक्सरे मेसिनमा राख्न भन्छिन् । हवाईजहाज उड्ने अन्तिम समयमा चेकिङमा परेकी आस्था केही रिसाएको प्रहरीद्वारा सार्वजनिक सिसिटिभी फुटेजमा देख्न सकिन्छ ।

चेकजाँचपछि आस्थालाई उनको कफीको कप जवान श्रेष्ठले दिइरहँदा उनले कप ठेल्छिन् र त्यहाँ रहेको टेबलमा कफी पोखिन्छ, आस्थाको ज्याकेटमा लाग्छ । फुटेजमा आस्थाले प्रहरी कर्मचारीलाई औंला ठड्याएर गाली गरेको देख्न सकिन्छ । भद्रपुर पुगेपछि आस्थाले फेसबुकमा लाइभ गर्दै आफूलाई प्रहरीले विमानस्थलमा दुव्र्यवहार गरेको भन्दै आक्रोश पोखेकी थिइन् । आस्थाले फेसबुकमा प्रहरी संगठनका विरुद्ध गालीगलौज पनि गरेकी थिइन् । प्रहरी जवान श्रेष्ठले राउतविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी दिएपछि जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई पक्रन अनुमति दिएको छ ।

यसैबीच प्रहरीले आस्थाका आमाबाबुले प्रहरी कार्यालयमा ल्याउने प्रतिबद्धता व्यक्त गरे उनलाई नेपाल छिर्नासाथ नपक्रिने बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले आस्थालाई कार्यालय हाजिर गराउने अभिभावकको प्रतिबद्धता आए प्रहरी सहयोग गर्न तयार रहेको बताए ।

यी पनि परेका थिए प्रहरी फन्दामा !
आस्थाभन्दा फरक घटनाका कारण हालसम्म केही सेलिब्रेटी प्रहरीको फन्दामा परेर छुटिसकेका छन् । चलचित्र अभिनय करियरमा विवादरहित अभिनेताका रूपमा चिनिएका राजेश हमाललाई २०६८ सालमा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत नवलपरासीकी ३५ वर्षीया महिला प्रहरी हवल्दार बालकुमारी अधिकारीले आफू हमालकी श्रीमती र तीन सन्तानकी आमा भएको भन्दै महानगरीय प्रहरी परिसर हनुमान ढोकामा उजुरी दिएपछि हमाल हनुमानढोका नै पुग्नुपर्‍यो ।

२०५२ साल वैशाख २ गते राजेश हमालले आफूसँग प्रेमविवाह गरेको भन्दै ती महिलाले अंशसहित श्रीमान् पाउँm भनी हनुमानढोकामा उजुरी दिने प्रयास गरे पनि प्रहरीले हनुमान ढोकामा अंशसहितको उजुरी दर्ता नहुने भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौं रिफर गरेको थियो । आफूमाथि लागेको आरोप गलत साबित गर्न अभिनेता हमाल स्वयं हनुमानढोकामा उपस्थित भएका थिए । बालकुमारीले राजेश हमालको र आफ्नो मामाघर पनि नवलपरासी रजहरमासँगै रहेको भन्दै हमालले आफूलाई श्रीमतीका रूपमा स्वीकारिसकेको दाबी गरेकी थिइन् । बालकुमारीका भाइ ढाकाराम अधिकारीले आफ्नो दिदी मानसिक रोगको बिरामी भएको प्रमाण प्रहरीसमक्ष पेस गरेपछि उनी मानसिक रोगी भएको खुलेको थियो ।

पप गायक सुगम पोखरेललाई २०६९ माघ २६ गते बेलुका प्रहरीले लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले उनीसहित ६ जनाको समूहलाई मैतीदेवीस्थित सेतोपुलबाट पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको समूहबाट पाँच पोका खैरो हेरोइन बरामद गरेको थियो । प्रहरीका अनुसार ती पोका पोखरेलसँग नभई अन्य व्यक्तिसँग थियो ।

ब्युरोले सुगमलाई त्यसअघि पनि खैरो हेरोइन दुव्र्यसनकै अभियोगमा पक्राउ गरेको थियो । उनीसँग सानो परिमाणमा खैरो हेरोइन बरामद भएपछि प्रहरीले आइन्दा दुव्र्यसन नगर्ने सर्तमा परिवारका सदस्यलाई जिम्मा लगाई छाडेको थियो ।

गत २०७४ चैतमा चलचित्र निर्देशक शम्भु प्रधानले आफ्नो चलचित्रको गीत ‘उकालीमा अघिअघि’ बिनाअनुमति चलचित्र ‘कृ’मा समावेश गरेको भन्दै निर्माता सुवास गिरीविरुद्ध प्रहरीमा उजुरी गरेपछि गिरी एक दिन हिरासतमा बसेर रिहा भए । निर्देशक प्रधानसँग छलफल गर्न भनी प्रहरी परिसर टेकु पुगेका गिरीलाई प्रहरीले सोधपुछका लागि भन्दै हिरासतमा लिएको थियो । त्यसको भोलिपल्ट गीतको भिडियो युट्युबबाट हटाउने र निर्देशक प्रधानलाई ११ लाख रुपैयाँ तिर्ने सहमतिमा उनी रिहा भए ।

चलचित्र निर्माता माधव वाग्लेलाई गत जेठ २ गते नक्कली नोटसहित प्रहरीले पक्राउ गर्‍यो । वाग्लेको प्रोडक्सन हाउस प्रिन्सेस मुभिजको कोठामा खानतलासी गर्दा नक्कली नोट भेटिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंले वाग्लेसहित अन्य पाँच जनालाई पक्राउ गरेको थियो । चलचित्र ‘चंगाचेट’को छायांकनका लागि नोट बनाए पनि केही नोट बजार पुगेपछि वाग्लेलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले वाग्लेको कोठाबाट २ करोड ५२ लाख नक्कली नोट भेटेको थियो ।

लोकगायक बद्री पंगेनी गत साउन ४ गत जुवाको खालबाट पक्राउ परे । प्रहरीले काठमाडौंको बासबारी क्षेत्रबाट जुवा खेलिरहेका बेला गायक पंगेनीसहित ११ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट २ लाख रुपैयाँ बरामद गरेको थियो ।

चलचित्र निर्माता गोविन्द शाहीलाई आफैंले निर्माण गरेको चलचित्र ‘लिलिबिली’ले उनलाई प्रहरीको फन्दामा पुर्‍यायो । चलचित्रका अन्य दुई निर्माता मिलन चाम्स र सुदीप खड्काले चलचित्र निर्माण गर्दा १ करोड हिनामिना गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि गत कात्तिक २१ गते शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको थियो ।

तिहारको समयमा देउसी–भैलो गीतलाई बिगारेर प्रस्तुत गरेको आरोपमा गायक तथा मोडल दुर्गेश थापा गत कात्तिक ५ गते पक्राउ परे । दुर्गेशले गाएको ‘ह्याप्पी तिहार’ गीतमा धूमपान, मादक पदार्थ र लागूऔषध खानुपर्छ जस्ता शब्द प्रयोग गरेर सामाजिक सहिष्णुता बिगारेको आरोप लागेपछि अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो ।

गत जेठ २४ गते युट्युबमार्फत चलचित्र क्षेत्रको बदनाम गरेको अभियोगमा मेमे नेपालका सञ्चालक प्रनेश गौतमलाई प्रहरीले पक्राउ गर्‍यो । निर्माता तथा निर्देशक मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘वीरविक्रम–२’ ताका प्रनेशले चलचित्रका कलाकारको मानमर्दन गरेको भन्दै चाम्सले प्रहरीमा उजुरी दिएपछि महानगरीय अपराध महाशाखा टेकुले गौतमलाई पक्राउ गरेको थियो । चलचित्रको प्रचारप्रसार गरिदिन्छु भन्दा आफूले नमानेपछि प्रनेशले निर्देशक तथा कलाकारको मानप्रतिष्ठामा खलल पुर्‍याउने, चलचित्रको व्यापार व्यवसायमा घाटा पुर्‍याउने, गाली गलौज गर्ने र चलचित्रको बदनामसमेत गरेको भनि निर्देशक राईले जाहेरी दिएका थिए । प्रहरीले प्रनेशलाई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान कारबाहीका लागि पक्राउ गरेको जनाएको थियो । त्यस्तै गत कात्तिक ७ गते अश्लील गीतहरू गाएको र गीतको भिडियोमा अनुमतिबिना नै असईको लुगा लगाएर गाँजा मोलेको आरोपमा र्‍यापर समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका थिए ।

कान्तिपुर साप्ताहिकबाट