वर्षमा कति किताब पढ्न पाउने सरकार ? कोटा तोक्दिनुस् – गगन थापा

असार ८, काठमाडौं – सरकारले नागरिकको ज्ञानमा नै नियन्त्रण गर्न खोजेको भन्दै नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले किताब पढ्ने कोटा तोकिदिन सरकारलाई व्यंग्यात्मक सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आइतवारको बैठकको शुन्य समयमा बोल्दै उनले भने, ‘किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानमा नियन्त्रण गर्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।’

सरकारले किताब आयातामा १० प्रतिशत भन्सार महसूल लगाउने व्यवस्था गरेकोप्रति असन्तुष्टि जनाएका छन् । साथै भन्सार लगाउँदा स्वदेशी मुद्रण उद्योग र राजस्व संकलनमा टेवामा पुग्छ भन्ने कुरा सही नभएको सांसद थापाको भनाइ छ ।

सांसद थापाले विदेशबाट आउने नेपालीले एक पटकमा कति किताब ल्याउन पाउने, किताब बढी ल्याउनेलाई दण्ड जरिवाना गर्नका साथै विमानस्थल लगायतमा सुरक्षा जाँच कडा गर्नुस् भन्दै सरकारलाई सुझाव दिए । त्यसो गर्दा पनि नेपाली किताब नपढी नछाड्ने भने एकजना नागरिकले एक वर्षमा कतिवटा किताब पढ्न पाउने हो त्यसको पनि कोटा तोकिदिनुस्’ गगनले भने ।