लामा भाषा पढाउने भन्दै भारत लैजाँदै गरेका २० बालबालिकाको उद्धार

 

पुस २७,जुम्ला – गैरकानुनी रुपमा भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजाँदै गरेको अबस्थामा २० बालबालिकाको प्रहरीले उद्धार गरेको छ । प्रहरीले पुस २५ गते तिला गाउँपालिकाको कुडारीबाट उद्धार गरेको हो । बालबालिकाले खचाखच भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा भारततिर लैजाने कुनै आधार नभेटिएपछि नियन्त्रणमा लिएर बालबालिकाको उद्धार गरेको हो ।

गैरकानुनी रुपमा जिल्ला बाहिर लैँजादै गरेको आरोपमा पातारासी गाउँपालिका ३ का २९ वर्षीय छिरिङ तुण्डुक तामाङ र सोही वडाका ३२ बर्षीय कार्मा तामाङलाई पक्राउ गरी अनुसन्धान गरिएको प्रहरी निरिक्षक चुडामणि पुनले बताए । लामा भाषा पढाईदिने भनेर अभिभावकलाई आश्वासनमा पारेर उनीहरुले बालबालिकालाई भारत लैजान लागेको अवस्थामा बसलाई नियन्त्रणमा लिई बालबालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक पुनले बताए । उनका अनुसार उद्धार गरिएका बालबालिका ७ देखि १४ वर्ष उमेर समूहका छन् ।

एउटै बसमा धेरै बच्चा लैँजादै गरेको देखे पछि सोधपुछ गरेर प्रहरीले पक्राउ गरेको हो । निरिक्षक पुनका अनुसार दुई जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । बालबालिकालाई प्रहरीको निगरानीमा होटलमा राखिएको छ ।
नयाँपत्रिकाबाट