रुकुम घटनाका दोषीलाई कारवाही गर्न माग

जेठ १४, काठमाडौ –  संवैधानिक कानून व्यवसायी मञ्चले अन्तरजातीय प्रेम विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ ।

संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्ष राजुप्रसाद चापागाईले आज जारी गरेको प्रेस विज्ञप्तिमा गृहमन्त्रालयले छानबिन समिति गठन गरेको परिप्रेक्ष्यमा उक्त जघन्य घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी हत्या, कुटपिट, जातीय भेदभावलगायत कसुरमा संलग्नलाई फौज्दारी दण्डको भागिदार बनाउन माग गरिएको छ ।

दोषीलाई सजायका साथै पीडितलाई पर्याप्त क्षतिपूर्ति दिलाई जातीयताको जरियाबाट उठेका कुनै पनि आपराधिक घटनाप्रति राज्यको शून्य सहनशीलतालाई व्याहारिकरुपमा पुष्टि गर्न मञ्चले माग गरेको छ । सो हिंसात्मक घटनामा २१ वर्षीय नवराज विकसहित तीनजनाको मृत्यु भएको, अरु तीनजनाको अवस्था अज्ञात रहेको र अन्य कैयौँ घाइते भएको घटनामा नेपालको संविधान एवं जातीय विभेदविरुद्धको महासन्धिले छुवाछूत तथा जातीय भेदभावलाई निषेध गरेको एवं जातीय भेदभाव तथा छुवाछूत ऐनअनुसार आपराधिक कार्य भएको जनाइएको छ ।