रियल मड्रिडले जित्यो क्लब विश्वकप

पुस २, काठमाडौं– युरोपियन च्याम्पियन रियल मड्रिडले लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । फिफा क्लब विश्वकप अन्तर्गत शनिबार राति अबुधाबीमा भएको फाइनलमा दक्षिण अमेरिकी क्षेत्रको विजेता ब्राजिलियन क्लब ग्रिमिओलाई १–० ले हराएर रियल मड्रिड लगातार दोस्रो वर्ष क्लब विश्वकपको उपाधि जित्ने पहिलो टिम बनेको हो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको रियल मड्रिडलाई महत्वपूर्ण उपाधि दिलाउने क्रममा क्रिष्टियानो रोनाल्डोले गोल गरे ।

रोनाल्डोले ५३ औं मिनेटमा फ्रि–किक मार्फत गोल गर्दै रियल मड्रिडलाई उपाधि दिलाएका हुन् । यो जितसँगै रियल मड्रिडले सन् २०१७ मा पाँच उपाधि जितेको छ । यसमा च्याम्पियन्स लिग, ला लिगा, युइएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप रहेका छन् । रियलका लागि विजयी गोल गरेका रोनाल्डो क्लब विश्वकपका सर्वाधिक गोलकर्ता हुन् । उनले अहिलेसम्म सात गोल गरेका छन् । रियल मड्रिडले यो प्रतियोगिताको उपाधि यसअघि सन् २०१४ र २०१६ मा जितेको थियो । सन् २००० देखि सुरु भएको प्रतियोगिताको उपाधि यो वर्ष पनि जित्दै रियल मड्रिड लगातार दुईपटक जित्ने पहिलो टिम तथा समग्रमा तीनपटक जित्ने दोस्रो टिम बनेको छ । यसअघि बार्सिलोनाले तीनपटक उपाधि जितिसकेको छ ।