राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदीले भने ‘ विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ’

असोज ११,काठमाडौं—भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै भारतले विश्वमै शान्तिको सन्देश फैलाउने बुद्ध दिएको बताए छन् । उनले भारतले विश्वलाई युद्ध नभई बुद्ध दिएको बताएका हुन् । शुक्रबार १७ मिनेटको भाषणाका क्रममा मोदीले भने, ‘हामी त्यो देशका नागरिका हौँ, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ । पूरा विश्वलाई शान्तिको सन्देश दिएको छ ।’

उनले नाम नलिइ घुमाउरो पारामा पाकिस्तानमाथि कडा टिप्पणी गरेका छन् । आतंकवाद पूरा विश्वका लागि खतरा भएको भन्दै उनले भारतले आतंकवादविरुद्ध विश्वलाई सतर्क गराउदै आएको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद कुनै एक देशको समस्या मात्रै नभएर, पूरा विश्वकै समस्या भएको भन्दै सबै एकजुट भएर यसविरुद्ध लड्नुपर्ने बताए । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा भारतले सबैभन्दा ठूलो योगदान दिएको मोदीले बताए ।

बीबीसी हिन्दी सेवाले प्रकाशन गरेको समाचारमा उनले भारतीय नागरिकले लोकतान्त्रिक तरिकाले आफूलाई जनादेश दिएकाले आफू संयुक्त राष्ट्र संघको महासभामा भएको बताएको उल्लेख छ । साथै मोदीले जलवायु परिवर्तनका लागि भारतको भूमिका निकै कम भएपनि समस्या समाधानका लागि कदम उठाउनेहरुमध्ये भारत एक अग्रणी देश भएको उनले दावी गरे ।