यसरी राखौं मुटुलाई स्वास्थ्य

असोज १२, काठमाडौं – मुटु रोग विश्वमै जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । पछिल्लो समयमा मुटु रोग युवा अवस्थाकै मान्छेहरुमा डरलाग्दो तरिकाले फैलिएको चिकित्सकहरु बताउँछन ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्से्नि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पछ्र्रन भने विश्व स्वास्थ्य संगठनले सन २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ ।

मुटु रोगको समयै निदान, रोकथाम तथा नियन्त्रणका लागि नियमित जाँचको साथै उचित शारीरिक तौल, नियमित व्यायाम तथा सन्तुलित भोजनको आवश्यकता पर्ने चिकित्सहरु बताउँछन् ।

मुटु स्वास्थ्य राख्न् निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।

धुम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने , नियमित शारिरीक व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो, बोसोयुक्त खानेकुरा, जंक फुड कम गर्ने ।

मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, मोटोपन बढ्न नदिने, नियमित रूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ ।

मुटुका केही रोगहरू जस्तै उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कारणले हुन सक्ने हुँदा बेलाबेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

मुटु रोगको प्रारम्भिक अवस्थामा उपचार गरे जोखिम कम हुन्छ । तर रोग छिप्पिँदै गए उपचार कठिन हुनुका साथै उपचार पनि धेरै महंगो हुन्छ ।

खानपानमा सन्तुलन मिलाउन सके, नियमित अभ्यास गरे र समय समयमा स्वास्थ्य जाँच गराए मुटु रोग लाग्नबाट बच्न सकिन्छ ।