मुटु रोगीले कस्ता खानेकुरा खाने ?

माघ ८, काठमाडौं – अव्यवस्थित खानपान, धूम्रपान, मोटोपन, शारीरिक आलस्यता आदि कारणले विश्वमा लाखौं मानिसको मृत्यु हुन्छ ।

मानिसको महत्वपूर्ण अंग मुटुले विभिन्न अंगहरूमा स्वस्थ रगत संचार गर्छ । मुटु अस्वस्थ भए शरीरको आवश्यकतानुसार रक्तसंचार कम हुनसक्छ र ह्दयाघात, कोरोनरी मुटु रोगबाट ग्रसित हुने सम्भावना बढ्छ ।

अहिले मुटु रोगीको संख्या बढ्दै गएको हुनाले मुटुलाई स्वस्थ राख्न आफ्नो दैनिक थालीमा अन्न, सागसब्जी, फलफूल, बदाम, लसुन, दालचिनी, मरिचको धूलो तथा कम चिल्लो समावेश हुनुपर्छ ।

–पालक, ब्रोकाउली, तोरीको साग, बन्दाकोभी आदि हरियो तरकारीमा भिटामिन, मिनरल तथा एन्टिअक्सिडेन्टको मात्रा बढी हुनाले रक्तचाप, मधुमेह र मुटुका बिरामीहरूका लागि फाइदाजनक हुन्छ ।

–दैनिक २–३ गिलाससम्म पाकेको सागसब्जीलाई आफ्नो थालीमा समावेश गर्न सके मुटु रोग हुने सम्भावना १६ प्रतिशतले कम हुने वैज्ञानिक तथ्यले देखाएको छ ।

–पोटासियम बढी भएका फलफूलजस्तै एभोकाडो, स्याउ, केरा, बेरी नियमित १–२ वटा खाँदा उच्च रक्तचाप घट्छ र १५ प्रतिशतले मुटु रोगको जोखिमबाट बच्न सकिन्छ ।

–सोडियम कम भएका खानेकुरा र कम चिल्लो भएको खाद्यवस्तु थालीमा समावेश गर्दा मुटु स्वस्थ रहन्छ । तारेका खानेकुरामा ट्रान्स फ्याट बढी हुने भएकाले मुटु रोगको जोखिम बढ्छ ।

–७० प्रतिशत कोका भएको डार्क चकलेट हप्तामा ४ पटक खाएमा ५७ प्रतिशतले कोरोनरी आर्टरी रोग नियन्त्रण हुन्छ ।

–सूर्यमुखी, तोरी तथा भटमासको तेल हरेक हप्ता परिवर्तन गरेर प्रयोग गर्दा पोलीअनस्याचुरेटेड तथा मोनोअनसेचुरेटेडको मात्रा बराबरी हुन्छ । एकपटक पकाएर बढी भएको तेल पुनस् प्रयोग गर्नु हँुदैन ।