ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्हो बार्सिलोनामा अनुबन्ध भएको औपचारिक घोषणा

 

काठमाडौं – ब्राजिलियन मिडफिल्डर फिलिप कोन्टिन्हो स्पेनिस ला लिगा क्लब बार्सिलोनामा अनुबन्ध भएको औपचारिक घोषणा गरिएको छ । बार्सिलोनाले नाउ क्याम्पमा समर्थक समक्ष कोन्टिन्होलाई क्लबको खेलाडीको रुपमा सोमबार औपारिक तवरले सार्वजनिक गरेको हो ।

२५ वर्षे ब्राजिलियन कोन्टिन्होले बार्सिलोनासँग साढे पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्ने बेता बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउ पनि सँगै थिए । त्यसपछि उनले मैदानमा बलसँग केही बेर खेले ।

लिभरपुलमा आफू पाँच वर्ष रहँदा आफ्नो तर्फबाट सक्दो प्रयास गरेको र आफू खुशी रहेको कोन्टिन्होले बताए । बार्सिलोनाले लिभरपुलसँग कोन्टिन्होलाई एक सय ४२ मिलियन पाउण्ड स्ट्रर्लिङमा अनुबन्ध गर्ने विषयमा सहमति गरेको हो ।

गएको समर विण्डोमा लगातार तीनपटक प्रयास गर्दा पनि असफल भएको बार्सिलोना जनवरी विण्डोमा भने कोन्टिन्होलाई क्लब भित्र्याउन सफल भएको हो । उनले बार्सिलोनामा अनुबन्ध हुनु सपना विपनामा परिणत भए जस्तै गरेको बताएका छन् ।
कोन्टिन्हो सन् २०१३ को जनवरीमा इन्टर मिलानबाट ८५ लाख पाउण्डमा लिभरपुल आएका थिए । बार्सिलोनाले गएको समर विण्डोमा कोन्टिन्होका लागि अन्तिम पटक एक सय १८ मिलियन तिर्ने प्रस्ताव गरेको थियो । तर त्यो लिभरपुलले अस्वीकार गरेको थियो ।