बोर्ड फेर्ने अधिकारसमेत पाएन पशुसेवा कार्यालयले

असार २१, काठमाडौं – स्थानीय तहलाई आफ्नो मातहतका जनतालाई सेवामुखी सबै कार्यालयको जिम्मेवारी दिने संवैधानिक व्यवस्था भई कार्यान्वयन सुरु भएको तीन वर्ष बिते पनि स्थलगत रुपमा त्यस्तो हुन सकेको छैन ।

दूरदराजको त कुरै छोडौँ राजधानीकै नगरपालिकाले आफ्ना अधिकार कार्यान्वयन गर्न सकेका छैनन् । गोकर्णेश्वर नगरपालिका मातहत रहेको पशु सेवा कार्यालयको बोर्ड फेर्ने अधिकारसमेत सो कार्यालयलाई छैन ।

नगरपालिकाको एउटै पशु सेवा कार्यालयको बोर्ड तीन वर्षदेखि च्यातिएर बुझ्न नसकिने भएको छ । यसका कारण सेवाग्राहीलाई कार्यालय खोज्न धौ धौ हुने गरेको छ । तर फेर्ने अधिकार नगरपालिकाले आफैँमा सीमित राखेको कार्यालयका कर्मचारीको गुनासो छ ।

नगरपालिका–२ नयाँपाटीस्थित भूमिस्थलीमा रहेको कार्यालयमा जनशक्तिको समेत अभाव छ । नगर क्षेत्रमा अझै पनि धेरै किसानले पशुपालन गरिरहेका छन् । खाली स्थानमा व्यावसायिक रुपमा कुखुरा, गाई फार्म चलाउने क्रमसमेत बढेको छ ।

तर कार्यालय एकजना पशु सहायकका भरमा चलेको छ । अर्का एक कार्यालय सहयोगी भए पनि उनीसँग पशुको उपचार गर्ने ज्ञान, सीप नहुने सेवाग्राहीको भनाइ छ ।

जनशक्ति नहुँदा पशुपालकको मागअनुसार सबैतिर पुगेर सेवा दिन नसकिएको पशु सेवा सहायक शान्ता खनालले बताइन् कार्यालयका प्रमुख, उपप्रमुखलगायत पशु संरक्षण अधिकृतको पद रिक्त भएको पनि तीन महिनाभन्दा बढी भइसक्यो ।

तर पदपूर्ति हुन सकेको छैन । उनले भनिन् “बोर्ड च्यातिएर नबुझिने भएको गुनासो म आउनुभन्दा अघि पनि नगरपालिकामा गरिएको रहेछ, मैले पनि पटकपटक भनिसकेँ, नगरपालिकाका अधिकृत भीमबहादुर शाहीले हुन्छ भने पनि कार्यान्वय भएको छैन”
कार्यालयमा हाल पशु सहायक खनाल र कार्यालय सहयोगी क्रान्ति लामामात्र कार्यरत छन् । पशु चिकित्सकको पद रिक्त भएको महिनौँ बित्दासमेत पदपूर्ति नहुँदा सेवा पाउनबाट वञ्चित हुनु परेको सेवाग्राहीको गुनासो छ । नगरपालिकाको १ नं वडाको मूलखर्क, ओखरेनी, चिलाउनेलगायत दुर्गम स्थानबाट घण्टौँ हिँडेर सेवा लिन जाँदा पनि पाउन नसकिने अवस्था रहेको सेवाग्राही रणबहादुर तामाङको गुनासो छ ।
पशुपालक किसानको समस्यामा नगरपालिकाको ध्यान नगएको तर्फ यहाँका हजारौँ नागरिकले दुःख प्रकट गरेका छन् । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना तीन दिनभित्र बोर्ड फेरिने प्रतिबद्धता जनाउछन् ।

नगरपालिकाका सूचना अधिकारी भीमबहादुर शाहील्े बोर्ड फेर्ने अधिकार कार्यालयलाई भए पनि कर्मचारीले नगरेको बताउछन् । सातौँ तहका कार्यालयप्रमुख हुँदा तला थप्न छुट्याएको बजेटबाट चालू आर्थिक वर्षमा केही काम गर्न नसकेको उनले बताए ।

कर्मचारी रिक्त भएको विषय लोक सेवा आयोगलाई लेखी पठाएकामा प्रदेश लोक सेवा आयोग गठन भइसकेकाले त्यहाँ लेखी पठाउन पत्राचार भइआएको जानकारी पनि उनले जानकारी दिए ।

सातौँ र छैटौँ तहका पशु चिकित्सकले एकै पटक राजीनामा दिँदा कार्यालय सहयोगीका भरमा चलेको कार्यालयमा सुत्केरी बिदामा बसेकी खनाललाई बोलाएर सकेको सेवा दिन थालिएको नगरपालिकाले जनाएको छ ।
रासस