बिदाको समयमा विद्यार्थीलाई गृहकार्य कति उचित ?

डा. मीनाक्षी दाहाल

काठमाडौं –  नजिकिएको चाँड दशैंमा विद्यालयहरु बिदाको तयारी गरिरहेका छन् भने अभिभावकहरु पनि लामो बिदाको सदूपयोग गर्न विभिन्न योजना बनाउँदैछन् । यस सन्दर्भमा बिदाको बेलामा बालबालिकाको लागि प्रशस्त गृहकार्य दिएर पठाउने चलन छ ।

अभिभावकहरुले पनि विद्यालयले बिदा भरीलाई पुग्ने गरी गृहकार्य दिए हुन्थ्यो भन्ने चाहना राखेको पाइन्छ । साथै बिदाको पूर्वसन्ध्यामा बालबालिकालाई गृहकार्य दिने, नदिने ? कस्तो दिने ? कतिदिने ? जस्ता विषयमा छलफल शुरु भएको पाइन्छ । यस लेखले यिनै विषयमा केही चर्चा गर्ने जमर्को गरेको छ ।

हामी चाहन्छौं, बालबालिकाले हरदम पढी रहुन् । कतै कुनै दिन उनीहरुले पढ्न छुटाए भने फेरि उनीहरुले पढेका कुरा बिर्सन्छन् र परीक्षामा राम्रो नतिजा ल्याउन सक्दैनन् भन्ने धारणा आम अभिभावकमा पाइन्छ । साथै अभिभावकको लागि गृहकार्य यस्तो औजार भएको छ कि जसको मद्धतले आफ्ना नानीहरुलाई बाहिर दौडिन, कुद्न, टिभी हेर्न, बरालिन वा अन्य (विशेषतःअभिभावकलाई मन नपर्ने) क्रियाकलाप गर्न रोक्न सक्छन् । त्यसो भए के गृहकार्य दिन एकदम आवश्यक छ त ?

अहिले सम्म भएका विभिन्न अध्ययन, अनुसन्धानलाई हेर्दा गृहकार्य गरेकै कारण विद्यार्थीको नतिजामा कुनै प्रगति भएको पाइएको छैन । तर पनि बालबालिकालाई आपूmले सिकेको कुराहरुलाई अभ्यासमा ल्याउनका लागि फरक फरक खालका गृहकार्य दिइएको भने पाइन्छ ।

अब त्यसो हो भने चाडपर्वको बेलामा बालबालिकालाई गृहकार्य दिने कि नदिने त? के सबै छुट्टीमा सधैं गृहकार्य दिन जरुरी हुन्छ ? गृहकार्य सधैं जरुरी हुदैंन । अथवा त्यस्तो गृहकार्य जो बन्द कोठा भित्र बसेर पाठ्यपुस्तकको सहायताले मात्र गर्न सकिन्छ यस्तो गृहकार्य बिदाको बेलामा नदिनु नै उचित हुन्छ ।

अझ चाडपर्व जस्तो सामाजिक÷सांस्कृतिक परिवेशमा त झन यस्ता गृहकार्यले बालबालिकालाई धेरै कुरा सिक्ने अवसरबाट वञ्चित गर्दछ । बालबालिकाले यस परिवेशमा अन्य सामाजिक सीपहरु सिकीरहेका हुन्छन् जुन जीवनपर्यन्त काम लाग्दछ । साथै बालबालिका चाडपर्वको रमाइलोमा परिवारसँग घुलमील हुँदा बौद्धिक तथा भाषिक सीप र क्षमता अभिवृद्धिका अवसर अझ धेरै हुने गर्दछ ।

यस्तो ज्ञानले पाठ्यपुस्तकबाट प्राप्त गर्ने ज्ञानलाई अझ सहयोग गर्छ र सिकेका कुराहरु प्रभावकारी र कहिले पनि नबिर्सने हुन्छन् ।

बालबालिकासँग बिदाको समयमा गर्नका लागि केही परियोजना कार्य दिन सकिन्छ । जस्तो कि उनीहरुलाई प्रत्येक दिनको सम्झना स्वरुप डायरी लेख्न लगाउन सकिन्छ । जसमा उनीहरुले दिन भरी के गरे, के नयाँ अनुभव लिए सो को टिपोट गराउन सकिन्छ । यस्तो कार्यले दिनभरीको घटना सम्झने हुनाले स्मरण तथा लेखन सीपमा सहयोग पुग्दछ ।

साथै बालबालिकालाई बिदा पछि विद्यालयमा चाडपर्वसँग सम्बन्धित कार्यहरु गराउन सकिन्छ । त्यो बारेमा भन्न लगाउने, वा उनीहरु कतै घुम्न गएका भए विशेष स्मरणीय स्थान तथा घटना बारे लेख्न दिने आदि कार्य गराउन सकिन्छ ।

बालबालिकाले आफ्नो वरीपरीको वातावरणबाट धेरै कुरा सिकीरहेका हुन्छन् । तसर्थ बालबालिकालाई बढी भन्दा बढी प्रकृति तथा बाह्य वातावरणसँग अन्तरक्रिया गर्ने अवसर दिएमा उनीहरुको शारिरीक तथा मनोसामाजिक विकासमा सकारात्मक प्रभाव परी उनीहरुको अध्ययनमा पनि फाइदा पुग्दछ ।