बालबालिकालाई कसरी प्रविधिको लतबाट छुटाउने ?

डा. मीनाक्षी दाहाल

असोज २८, काठमाडौं –प्रविधिको विस्तारसँगै हामी सबैको लागि मोबाइल, टीभी, कम्प्युटर जस्ता सामग्रीहरु पनि अपरिहार्य भैसकेको छ । त्यसैले के बालबालिका, के वयस्क सबैलाई यस्ता प्रविधि प्रयोग गर्ने लत लागेको पाइन्छ । विज्ञान तथा प्रविधिको विस्तार र विकास अत्यन्तै तिब्र गतिमा भएकोले अझ विशेष गरेर बालबालिकाको लागि प्रविधि समस्याको रुपमा आएको छ ।

बालबालिकाको विकास हुदै गरेको मस्तिष्क र आत्मसम्मानको अनुभूतिलाई यस्ता प्रविधिहरु मोवाइल, फोन, टीभी, कम्प्युटर जस्ता सामग्रीको प्रयोग हानीकारक हुन्छ । बालबालिकाको वृद्धि र विकास भए द्रूत गतिमा भैरहेको हुन्छ । समयमा नै यस्ता समस्या सम्बोधन गर्नुपर्दछ, नत्र भने यसले विभिन्न समस्या आउनसक्छ ।

यस उमेरमा बालबालिकाको मस्तिष्कको विकास पनि अत्यन्त तिब्ररुपमा हुन्छ । स्नायू विज्ञानका अनुसार बालबालिकाले गर्ने क्रियाकलाप र अनुभवहरुले उनीहरुको मस्तिष्कका कोषिकाहरुमा तरंग उत्पन्न भइ नयाँ सम्पर्कहरु स्थापित गर्दछन् । निरन्तर र बारम्बार एकै प्रकारका अभ्यासहरु गरिरहेमा त्यस्तो अनुभवका कोषिकाहरु स्थायी र मजबुत हुन्छ, जुन जीवनपर्यन्त रहन्छ । तर जुन अनुभवका कोषिकाहरु प्रयोगमा आउँदैनन् ती कोषिकाहरु क्रमशः मर्दै जान्छन् ।

यसक्रममा बालबालिकाकाले सिक्नै पर्ने कतिपय ज्ञान तथा सीपहरु सिक्न नपाइ हराएर जान्छ । तसर्थ बालबालिकाको मस्तिष्क विकासका लागि उनीहरुलाई बढी भन्दा बढी ज्ञानेन्द्रियको प्रयोग गर्दै फरकफरक अनुभव गर्ने वातावरण र अवसर प्रदान गर्नुपर्दछ ।

त्यसो भए धेरै मोवाइल र टीभीमा भुल्ने बालबालिकाको मस्तिष्कको विकासमा कस्तो असर पर्छ त ?

बालबालिकालाई लामो समयसम्म वा पटक पटक मोवाइल, टीभी हेर्न , खेल्न दिएमा उनीहरुलाई यस्ता प्रविधि (digital devices) हरुको लत  लाग्दछ । जसले गर्दा उनीहरु एकोहोरिने, झर्कने, रिसाउने, एक्लै बस्ने, पढाइमा ध्यान नदिने गर्दछन् । अझ कति बालबालिकाहरु त मोवाइल, टीभीमा मात्र रमाउने तर अरु कुनै पनि कुरामा रमाउन नसक्ने हुन्छन् । साथीहरुसँग बाहिर ननिस्कने, को आफन्त आएमा खुशी नहुने, अन्य कुनै पनि सामग्रीमा मन नदिने हुन्छन् । यस्तो हुदाँ बालबालिकाको मस्तिष्कको विकास पनि सर्वाङ्गीणरुपमा नभएर आंशिकरुपमा मात्र हुन जान्छ । फलस्वरुप बालबालिकाको उमेर अनुसार हुन पर्ने वृद्धि र विकास हुन नसकी आवश्यक ज्ञान र सीप सिक्न सक्दैनन् ।

बालबालिकालाई कसरी यस्तो प्रविधिको लतबाट छुटाउने अथवा लत लाग्न नै नदिने त ?

हामीले यसो बिचार गर्यौ भने  बालबालिका मात्र होइन वयस्कहरु पनि (स्वयम् अभिभावकहरु) मोवाइल, कम्प्युटर तथा टीभीबाट आफुलाई  अलग राख्न सकिरहेका छैनन् । तसर्थ यो समग्रमा सबैको समस्या भएता पनि यसको असर बालबालिकालाई अझ बढी पर्ने हुनाले बालबालिकाका लागि विशेष ध्यान दिन जरुरी छ ।

अभिभावक तथा परिवारका सदस्यहरुले बालबालिका आफुसँग भएको समयमा सकेसम्म मोवाइल फोन, ट्याब्लेट, टीभी वा अन्य त्यस्ता इलेक्ट्रोनिक समग्री प्रयोग नगरौं वा कम प्रयोग गरौं । हामी कति अभिभावकले बच्चाले आफुलाई  दिक्क लगाएमा मोवायल दिएर चुप लगाउने अभ्यास छ । यो सबैभन्दा हानीकारक बानी हो ।

यस्तो समयमा बालबालिकालाई अन्य कुनै कुरामा भुलाउने, उनीहरुसँग खेल खेल्ने, कुराकानी गर्ने जस्ता तरीका अपनाउनु उचित हुन्छ । बालबालिकालाई बाहिर जाने, खेल्ने कुरामा अझ बढी स्वतन्त्रता दिनु पर्दछ । यदि उनीहरु साथीसँग बाहिर खेल्न चाहन्छन् भने यसको लागि हौशला र साथ दिनु पर्दछ । बालबालिकाले प्रकृतिबाट सबैभन्दा धेरै सिक्दछन् । तसर्थ बिना बिद्युतीयको खेल खेल्न प्रेरित गर्नुपर्दछ ।

बालबालिकालाई थोरै समयको लागि मोवाइल वा टीभी हेर्न दिइन्छ भने एक्लै छोड्नुहुदैन । बरु उनीहरुले हेरेको कुरा वा खेलेको खेलका बारेमा कुराकानी गर्ने, प्रश्न राख्ने र उनीहरुलाई थप कल्पना गर्न र कथा बनाउन अवसर प्रदान गर्नुपर्दछ । यसबाट बालबालिकाको अन्य क्षमताको पनि विकास हुन्छ । सबै भन्दा महत्वपूर्ण त अभिभावकले आफ्नो बानीको सुधार गर्दै बालबालिकाको अगाडि कम भन्दा कम फोन, कम्प्युटर चलाउनु नै हो ।