बहु आयामिक भूमिकामा सार्वजनिक प्रशासन

दामोदर रेग्मी

सार्वजनिक प्रशासन राज्यद्वारा जनता समक्ष प्रतिवध्दता गरिएका उद्देश्यहरुको परिपुर्तिको लागि निरन्तर रूपमा दत्त चित्त, तयारी अवस्थामा रहनु पर्ने र सक्रिय रहनुपर्ने अंग हो । सार्वजनिक प्रशासन सेवा प्रवाहको विषय संग अति नजीक वाट परिचित हुनुपर्ने , विज्ञ र व्यवसायिक समेत हुनु पर्दछ । यहि विज्ञता र व्यवसायिकता वाट सेवा प्रवाहको सुनिश्चितिता र सेवाको गुणस्तर को प्रत्याभूति गर्ने कार्यमा प्रशासनको भूमिका महत्वपूर्ण हुने गर्दछ । सेवा प्रवाहको सुनिश्चितिता र सेवाको गुणस्तर को प्रत्याभूतिवाट नै प्रजातान्त्रिक शासन संयन्त्र प्रति जनताको विश्वास वृध्दि हुन जान्छ ।

राज्यले जनता समक्ष पुयाउनु पर्ने सेवा सुविधाहरुलाई विषयगत विज्ञताको आधारमा जनताको निकटतम दूरीमा रहेर सेवा प्रवाह गर्ने उद्देश्यका साथ नीतिगत विषयका लागि विभिन्न क्षेत्रगत मन्त्रालयहरु, विकासात्मक कार्यको लागि क्षेत्रगत मन्त्रालयहरु अन्तरगत आवश्यकता अनुसार विभागहरु र सेवा प्रवाहको लागि स्थानीय तहहरुमा विभिन्न कार्यालयहरुको व्यवस्था गरिएको हुन्छ । दूर दराज सम्म फैलिएको यो विशाल संयन्त्रले जनता लाई सेवा प्रवाह गर्ने आधारशीला प्रदान गरेको मात्र होइन कि राज्यको उपस्थिति समेत जनाइरहेका हुन्छन् । प्रशासनको जनताको निकटतम दूरीमा रहेको उपस्थितिले जनताले आफ्नो चाहना र आवाजलाई प्रशासनिक संयन्त्र मार्फत सरकारसम्म पुर्याउने अवसर पाउंछ जुन कुरा जनताले प्रजातन्त्रको अनुभूतिगर्न सक्ने एउटा आधार हो ।

प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र हो। यसै कारणले सरकारी नीति निर्माण कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महत्वपुर्ण भूमिका रहेको हुन्छ । प्रशासन निर्वाचित सरकार (राजनीति) र सेवाग्राही (जनता) वीचको सम्बन्ध सेतु हो। यसर्थ प्रशासनिक संयन्त्र जति प्रभावकारी हुन्छ त्यत्तिनै सरकार त जनतावीचको सम्बन्ध असल हुने गर्दछ र यहि असल सम्बन्धलेनै सरकारको दिगोपना को सुनिश्चितता गर्ने गर्दछ। प्रशासन यन्त्रको सकारात्मक पूर्व सक्रियताले एकातर्फ राजनीतिज्ञले आफुले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीति नियम र प्रक्रियाका आवद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सक्छन भने कार्यान्वयनको क्रममा जन अपेक्षाको सम्बोधन भयो भएन र त्यसमा के कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठ पोषण प्राप्त भै त्यसलाई आगामी दिनको कार्ययोजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ। सकारात्मकता सहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र शासकीय प्रणालीको सम्वाहक तथा प्रजातान्त्रिक शासन प्रणालीको लागि आवश्यकीय पक्ष हो ।

प्रजातान्त्रिक शासन प्रणालीमा सरोकारवालाहरुको उपस्थिति र सम्वन्ध महत्वपूर्ण विषय मानिने गर्दछ । सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण भएको हुदा यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् । आवश्यकताहरुको सम्बोधनको आधारमा नै सरोकारवालाहरुको सम्बन्धको निर्धारण हुने गर्दछ । यस्ता आवश्यकताहरुको एकल वा सामूहिक प्रयत्नव्दारा समाधानको निमित्त गरिने प्रयास नै सार्वजनिक मामिलाहरुको व्यवस्थापन हो । सार्वजनिक मामिलाहरुको व्यवस्थापनमा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहने तथा यी सरोकारवालाहरुको भूमिका भिन्न भिन्न हुने र यी भूमिकाहरुको सकारात्मक अन्तर सम्बन्धले सार्वजनिक मामिलाको व्यवस्थापनलाई प्रभावकारी वनाइदिन्छ । यसर्थ प्रजातान्त्रिक शासकीय प्रणालीमा सरोकारवालाहरु संग सहकार्य र समन्वय क्षमता वाट सार्वजनिक मामिलाको व्यवस्थापनमा सार्वजनिक प्रशासनले प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछन् ।

सार्वजनिक प्रशासन सरकारको सेवा प्रवाहको एक महत्वपुर्ण र आवश्यकीय संयन्त्र हो सरकार र जनता विचको दरिलो र स्थायी सम्पर्क सुत्रको रूपमा रहेको सार्वजनिक प्रशासन सरकारको स्थायी संयन्त्र विषयगत विज्ञता, कार्यगत विशिष्टताले युक्त हुन्छ । प्रजातान्त्रिक वातावरणमा समय, शिक्षा, प्रविधिको परिवर्तन संगै राजनितिक र शासकीय आयामहरु धेरै परिवर्तन हरू आउछन् र यी परिवर्तन हरूले स्वभावत सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै आयामहरू सिर्जना गर्दछन् । यस्ता परिवर्तित परिवेशहरुले सार्वजनिक प्रशासनको भूमिका अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्दछ । सार्वजनिक प्रशासन राज्यद्वारा जनता समक्ष प्रतिवद्दता गरिएका उद्देश्यहरुको परिपुर्तिको लागि निरन्तर रूपमा दत्त चित्त, तयारी अवस्थामा रहनु पर्ने र सक्रिय रहनुपर्ने अंग हो । जसरी समयको परिवर्तन भएको छ तदनुरूप जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा वृद्धि भएको हुन्छ र त्यो आशा र भरोसा सरकार तर्फ लक्षित रहेको हुन्छ अन्ततः सरकार तर्फ लक्षित जनताको आशा र अपेक्षा पुरा गर्नु पर्ने दायित्व सार्वजनिक प्रशासनमा सर्न पुग्दछ । त्यसैले शासकीय पक्षमा देखिने परिवर्तित परिवेशले सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितिता र सेवाको गुणस्तर को प्रत्याभूति जस्ता क्षेत्रहरूमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ ।यस्ता आवश्यकताको परिपूर्ति गर्न सक्ने प्रशासन नै अहिलेको समयिक आवश्यकता हो । निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषताहरु हुन् । यी विशेषताहरुको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ र यी विशेषताहरुको न्यून उपस्थिति वा क्षयीकरणले प्रशासन मात्र होइन समग्र शासकीय संयन्त्र नै व्यापक आलोचनाको पात्र बन्न पुग्दछ । राज्य संयन्त्र प्रति जनताको अपनत्वबोध कायम गर्न प्रशासनयन्त्रको सकारात्मक भूमिका ले सरकार प्रति जनमानसमा विश्वसनीययता वृध्दि भै जन अपनत्वयुक्त दिगो सरकार वन्न सक्दछ । जन अपनत्वयुक्त दिगो सरकारले शासन प्रणालीलाई लाई प्रभावकारी बनाउनमा सहयोग गर्दछ यस कार्यमा पनि प्रशासनयन्त्रको भूमिका महत्वपूर्ण रहने गर्दछ ।

व्यवसायिकता सार्वजनिक प्रशासनको त्यो चरित्र हो जसले कम साधन श्रोतको अत्यधिक उपयोग गरि उत्पादकत्वमा वृध्दि ल्याउने सामथ्र्य राख्दछ ।यस अर्थमा व्यवसायिक प्रशासन राज्यका अमूल्य निधि हुन । साधन श्रोतको उपयोगमा मितव्ययिता, प्राप्त समयको भरपूर उपयोग र निर्धारित समायावधि भित्र गुणस्तरयुक्त सेवा दिन सक्नु व्यवसायिक प्रशासनको गुण हो । आफ्नो कामप्रति पूर्ण प्रतिवद्ध, लगावयुक्त, नैतिकता, निष्ठा, इमान्दारिता, विश्वास र लक्ष्य प्रति प्रतिबध्द जनशक्तिले नै व्यवसायिक प्रशासनको प्रत्याभूति दिन सक्दछन् । व्यवसायिक प्रशासन नै संघीय प्रजातन्त्रको सुदृढीकरणको आधारशीला हो ।
(दामोदर रेग्मी प्रदेश सरकारका सचिव र संघीयताका विज्ञ तथा विश्लेषक हुन् )