बढे घरेलु हिंसा

मंसिर २०, काठमाडौं – पछिल्लो समयमा घरेलु हिंसाका घटना बढ्दै गएका छन् । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार कात्तिक महिनामा मात्र एक हजार दुई महिला तथा बालबालिकासम्बन्धी घरेलु हिंसा भएका छन् ।

नेपाल प्रहरी र मन्त्रालयले गरेको अध्ययनअनुसार कात्तिक महिनामा जबर्जस्ती करणीसम्बन्धी १७७ वटा घटना भएका छन् । तथ्याङ्कअनुसार प्रदेशगतरुपमा हेर्दा सबैभन्दा बढी प्रदेश नम्बर २ मा ३४१ वटा घरेलु हिंसाका घटना भएका छन् । कात्तिक महिनाभरि देशैभरिको तथ्याङ्क हेर्ने हो भने जबर्जस्तीकरण उद्योगसम्बन्धी ४७, बहुविवाह ७५, बालविवाह पाँच, बोक्सी आरोप चार र अवैध गर्भपतनसम्बन्धी छ घटना भएका छन् ।

प्रत्येक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्रा्ष्ट्रिय अभियानका रुपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने गरिएको छ । मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर ९ देखि मङ्सिर २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत मन्त्रालयले सामाजिक सचेतनासहित लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न सङ्घीय सरकारका मन्त्रालय तथा निकाय, सातै वटा प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह एवं त्यसका वडा, सरोकारवाला निकाय, विद्यालय, सामाजिक सङ्घ संस्थालाई आह्वान गरेको थियो ।

मन्त्रालयले २०७६÷०७७ लाई लैङ्गिक हिंसाविरुद्धको अभियान वर्षको रुपमा सङ्घ, प्रदेश र स्थानीय तहमा मनाउन नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार पाँच वटा प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम सम्पन्न भइसकेको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिइन् । ‘समानताको पुस्ताः बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ प्रदेश नं ३ अन्तर्गत यही मङ्सिर २२ गते काठमाडौँ भव्य कार्यक्रमको समेत आयोजना गरिएको छ ।
रासस