बजारमा छुटको नाममा लुट मच्चिएको छ –अध्यक्ष प्रेमलाल महर्जन

असोज १२, काठमाडौं –सेल ! सेल ! सेल ! एउट किन्दा अर्को सित्तैमा । २० देखि ५० प्रतिशत सम्म छुट । सामान किनेमा बम्पर उपहार । यस्तै यस्तै ग्राहक लोभ्याउन लेखिएका ट्यागले यतिबेला बजार छपक्कै छोपेको छ ।

नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गर्दै ब्यापारीहरुले ठूलो सख्यामा सामान बिक्रिी गर्ने उद्देश्यले सेल तथा छुटकोे योजना ल्याएका छन् । उपभोक्ताहरु पनि सेल र छुटमा सामान पाएकोमा मख्ख पर्दै धमाधम किनिरहेको छन् ।

कतिपय ठाँउमा त उपभोक्ताहरु सामान किन्न तछाडमछाड नै गरेका छन । पायो त खायो भने झै ग्राहकहरु आफुले तिर्ने पैसा सहि हो कि होइन, गुणस्तरको छ कि छैन त्यो बारेमा ख्याल नै नगरेको पाइन्छ ।

सेल र छुटमा राखिएका सामानहरु किन्दा उपभोक्ताहरुले के कस्ता कुरामा ध्यान दिनुपर्दछ ? ब्यापारीहरुले किन राख्छन् सेल तथा छुटमा सामान ? उपभोक्ता ठगिए के गर्ने ? यि र यस्ता बिषयमा केन्द्रित रहि इमेलखवर डटकमले राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनसंग गरेको कुुराकानीको संम्पादित अंश ।

छुट र सेलमा सामान किन्दा उपभोक्ताहरुले के कस्ता कुराहरुमा ध्यान दिनुपर्दछ ?

दशैं तिहार जस्ता चाडपर्वको अवसर पारेर यतिबेला बजारमा सेल र छुटमा सामानहरु राखिएका छन् । यसरी पाइने सामाहरु प्रति उपभोक्ताहरु बिशेष सचेत हुनुपर्दछ । यसबारे उपभोक्ताहरु सचेत भएको पाइदैन । सामान कस्तो छ ? गुणस्तर छ कि छैन ? बिशेष ख्याल गर्नुपर्दछ । लत्ताकपडाको सन्र्दभमा कति पुरानो हो । त्यसको रंग कस्तो छ । हेरेर लिनु पर्दछ । यदि रंग उडिसकेको छ भने त्यस्तो सामान नलिनु नै राम्रो हुन्छ । सामान किन्दा बिशेष गरि सामानको उत्पादन मिति हेर्नु पर्दछ । मिति गइसकेका सामान लिनु हुदैन । जुन गुणस्तरहीन हुन्छ ।

ब्यापारीहरुले सेल र छुटमा किन सामान बेच्ने गर्दछन् ?

ब्यापारीहरुको मुख्य उद्देश्य अधिक मात्रामा आफ्नो सामान बेच्नु हुन्छ । चाडपर्वको समयमा उपभोक्ताहरुको किनमेल पनि बढ्छ । सामानमा छुट दिएमा ग्राहकहरु आकर्षित हुन्छन् भन्ने बुझाई ब्यापारीहरुमा रहेको छ । सेल र छुट दिएर ब्यापारीहरुले आफुसंग भएको स्टक सामान क्लिरिङ गर्ने गरेका छन् ।

ब्यापारीहरुले उपभोक्ताहरुलाई दिने छुट र सेल उचित छ त ?

उचित छैन ब्यापारीहरुले सेल र छुटको नाममा लुटिरहेका छन् । यस मार्फत उपभोक्ताहरु बिभिन्न अवस्थामा ठगिरहेका छन् । यहाँ छुटको नाममा लुट मच्चिरहेको छ । हाम्रो बिभिन्न निकायहरु मार्फत अनुगमन भइरहेको छ । उपभोक्ताहरुलाई पनि यदि आफु ठगिएको महसुस भएमा बिभिन्न निकायमा उजुरी गर्न आग्रह गरिरहेका छौं ।

यदि उपभोक्ता ठगिएमा कहाँ उजुरी गर्ने ?

उपभोक्ताहरु आफु ठगिए उजुरी गर्ने बिभिन्न चरणहरु छन् । पहिलो चरणमा उजुरीका लागि गाँउपालिका, नगरपालिका, प्रहरी एवं सरोकारवाला संस्थाहरुमा जान सकिन्छ । यदि मुद्दा हाल्नु पर्ने अवस्था आएमा जिल्ला अदालतमा क्षतिपुर्तिको माग दाबी सहित मुद्दा दायर गर्न सकिन्छ ।

तस्बीर– प्रेमलाल महर्जनको फेसबुकबाट