फुटबल – एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित

माघ ५, काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एनआरटीलाई जीत दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक÷एक गोल गरे ।

एनआरटीका खेलाडी आन्द्रे थेरीले खेलको २४औँ मिनेटमा पहिलो गोल गरे । खेलमा एक शून्य गोलको अग्रता बनाएको एनआरटी खेलको ४१औँ मिनेटमा एक गोल खान पुग्यो । जसमा एपिएफका आशिष लामाले गोल गरे ।

खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरीमा टुङ्गिएको खेल दोस्रो हाफमा भने एनआरटीले दुई गोल थप्दा एपिएफले एक गोल थप्यो । खेलको ५३औँ मिनेटमा एपिएफका आशिष लामाले व्यक्तिगत दुई गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाए । त्यो दुई एक गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

एनआरटीका खेलाडी जोर्डन एनडेम्बाले खेलको ८०औँ मिनेटमा एक गोल थप्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

त्यसपछि एनआरटीका अर्का खेलाडी दर्शन गुरुङले खेलको ८५औँ मिनेटमा एक गोल थपेपछि एनआरटीले एपिएफमाथि ३–२ को जीत हात पा¥यो । जीतसँगै एनआरटी लिगको छैटौँ स्थानमा उक्लिएको छ । एनआरटीले सात खेलमा ११ अङ्क जोडेको छ भने एपिएफले समान सात खेलमा पाँच अङ्क जोडेर लिगको १२औँ स्थानमा रहेको छ ।