पेट्रोलियम पाइपलाइनको उद्घाटन हाइटेक प्रविधिमार्फत भदौमा हुने

साउन २९, काठमाडौं — पेट्रोलियम पाइपलाइनको उद्घाटन हाइटेक प्रविधिमार्फत हुने भएको छ । पाइप ओछ्याउने काम शतप्रतिशत सम्पन्न भइसकेको छ । नेपाल र भारत सरकारको द्विपक्षीय छलफलमार्फत उद्घाटन गर्न हालसम्म दुईवटा मिति निर्धारण भएको छ ।

भदौ १५ गते (सेप्टेम्बर १ तारिख) र भदौ २४ (सेप्टेम्बर १० तारिख) निर्धारण भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सहज हुने गरी ती दुवै मध्ये एक छनोट गरिनेछ । यसरी छनोट भएको दिनमा हाइटेक प्रविधिमार्फत उक्त पाइपलाइनको उद्घाटन गर्ने तय भएको छ । उद्घाटन पश्चात यो पाइपलाइनबाट नियमित इन्धन आपूर्ति हुनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले संयुक्तरूपमा पाइपलाइन उद्घाटन गर्नेछन् ।

उद्घाटनका बेला भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद र नेपालका प्रधानमन्त्री ओलीले एकै समयमा रिमोट थिच्नेछन् ।
त्यो रिमोटको सेन्सरले कम्प्युटरको सेन्सरले समात्नेछ ।

यसरी कम्प्युटरले सेन्सरको सहयोगमा मोदीको रिमोट थिचाइले अमलेखगञ्जस्थित डिपोको युनिटको भल्व खुल्नेछ । यसपछि ओलीको रिमोट थिचाइले उक्त डिपोमा इन्धन खसालिनेछ ।