पाल्पा विकासका वहुआयामहरु : पाल्पा विकास बहस श्रृंखला

दामोदर रेग्मी

स्वर्गको एउटा टुक्रा पाल्पा । जाति, भाषा र वहुसंस्कृतिको विशिष्ट पहिचान अनि सेनवंशी र मगराती पृष्ठभुमी बोकेको जिल्ला पाल्पा । दक्षिण एसियाकै ठुलो त्रिशुल अनि भैरव मन्दिर भएको जिल्ला पाल्पा, नेपालको मानचित्रमा प्रदेश नम्वर ५ भित्र, विश्वमै परिचत शान्तिका अग्रदुत गौतमवुद्धको जन्मस्थल लुम्विनी र पर्यटकीय स्थल पोखराको विचमा पर्दछ । 

पाल्पा जिल्लाको ऐतिहासिक राणाकालिन भवनहरू, अनि प्राचिन कला कौशलले भरिपुर्ण धार्मिकस्थल तथा पर्यटकीय अनेकौ रमणीय सुन्दर ठाउँहरुको गुणगान जत्तिनै गरेपनि पुग्दैन । अझ पाल्पाली ढाका र पाल्पाली करुवाको गरिमा र महिमा, झन कति छन् कति ?

विशिष्ट भौगोलिक संरचनाले सृजना गरेको यहाँको समशितोष्ण प्रकारको हावापानी, अनि जनजीवन, तथा सांस्कृतिक विविधता, र विश्वकै उच्च हिमश्रृङ्खलाहरूको रमणिय दृश्यले पनि पाल्पालाई स्वर्गको एउटा टुक्रा हो भन्दा कुनै आपत्ति हुने छैन । अनवरत बग्ने यहाँका कञ्चन कालीगण्डकी, खोला नदिनाला होस या छङछङ वग्ने झरनाहरु र प्रकृतिको अनुपम सुन्दरताले वाह्य पर्यटक मात्रै नभई, घरभित्रैका आन्तरिक पर्यटकहरु समेत लोभिने गरेका छन् ।

भैगोलिक रुपमा नेपालको जस्तै नक्सा आकारमा, २७ डि.३४ मिनेट, देखि २७ डि. २७ मि. सम्म उत्तरी आक्षांस र ८३ डि.१५ मि. देखि ८४ डि.२२ मी. सम्म पूर्वी देशान्तरमा फैलिएको यो पाल्पा जिल्ला मुलुकको ७७ जिल्लाहरुमध्ये एक हो । नेपालको कुल भुभागको ०.९३ प्रतिशत अर्थात १३७३ वर्ग कि.मी. क्षेत्रफल ओगटेको यस पाल्पा जिल्लाको पूर्व पश्चिम दूरी सरदर ७० कि.मी. र उत्तर दक्षिण दूरी सरदर २० कि.मी. रहेको छ ।

रामपुर, माडी, अर्गली, कचल, दर्पूक जस्ता फाँट र काली गण्डकीका तटका क्षेत्रहरुले कृषि उत्पादनका दृष्टिले उर्वर मात्रै हैन अन्न भण्डारणको रुपमा पनि लिईने गरिएको छ । त्यसैगरी मुख्य वनस्पतीमा साल, सिसौ, सिमल, जामुन, टुनी, चाप, हर्रो, वर्रो आदि वेसी तथा चुरे क्षेत्रमा पाइन्छ भने काफल, चिलाउने, कटुस, सल्लो, लालीगुराँस आदि लेक तथा महाभारत श्रृंखलामा पाइन्छन् ।

धार्मिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण मानिएको कालीगण्डकी नदी नागवेली झै वगेर लुम्विनी र गण्डकी अंचललाई कित्ताकाट गरिदिएको छ । यहाँ रहेको सत्यवती ताल, सीता कुण्ड र प्रभासताल जस्ता मुख्य ताल तथा कुण्डहरुले पर्यटकीय महत्वलाई झन महंगो बनाईदिएको छ । अझ सत्यवती ताल पर्यटकीय मात्र नभई धार्मिक महत्वका हिसावले गरिमापूर्ण रहेको छ ।

पर्यकीय क्षेत्रका दृष्टिले पाल्पा आफैमा चीर परिचित पर्यटकीय गन्तव्य हो । राणाकालका चार कमाण्डरहरु मध्ये पाल्पा जिल्लामा रहेको एक कमाण्डरको व्यवस्थाले पनि पाल्पा ऐतिहासिक काल देखिनै प्रमुख प्रशासनिक क्षेत्रको धरोहरको रुपमा परिचित हुदै आएको छ ।

पाल्पा तानसेनको श्रीपेंच “श्रीनगरडाँडा”को प्राकृतिक छटा, स्वच्छ हराभरा र प्राकृतिक सुन्दरताको पनि वर्णन गरी साध्य छैन । तानसेनको श्रीनगरडाँडा”मा निर्माण गरिएको भ्युटावरबाट पहाडकी रानी तानसेन बजार, टुंडीखेल र माँडीफाँटकोे मनोरम दृश्यले यहाँ आउने जोकोही लालायित हुने गर्छन् । यही श्रीनगरडाँडाबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण लगायत नेपालका सवैजसो हिमश्रृंखलाहरुको सजिलै संग दृश्यावलोकन गर्न सकिन्छ ।

तानसेनको मध्यभागमा अवस्थित शितलपार्टीको गोलघर, राणकालमै, परम्परागत काष्ठकलाको भरपूर कला र कौशलता प्रयोग गरी बनाइएको, दक्षिण एसियाकै ठूलो काठकोे “मुलढोका” अनि ऐतिहासिक पाल्पा दर्बार प्राचिन ऐतिहासिक गरिमाको महिमा जति सुकै वर्णन गरे पनि पुग्दैन । यहाँ रहेका ऐतिहासिक अमरनारायण मन्दिर, भगवतीटोलको रणउजीरेश्वरी भगवती मन्दिरको धार्मिक र ऐतिहासिक महिमा पनि कम छैन । अग्रेजयुद्धमा विरता प्रदर्शन गरी विजय हासिल गरेको खुसीयालीमा, विजयको प्रतिक स्वरुप मनाउन सुरु गरिएको भगवतीजात्राको मेलाले पनि धार्मिक,ऐतिहासिक महत्व अझ बढाएको पाईन्छ ।

यता कालीगण्डकीको सामिप्यमा रहेको रुरु क्षेत्र, नेपालको चार धाम मध्येको एक, गुल्मी,पाल्पा र स्याङ्जाको मुख्य संगमस्थल रुरु क्षेत्र पनि धार्मिक तिर्थस्थल मात्र नभई पर्यटकीय दृष्टिकोणले प्रमुख गन्तब्य बनेको छ । श्री ३ जुद्ध शम्शेर राणाले बनाएको अर्गलीको प्राचिन दरबार पनि यहाँको अर्काे ऐतिहासिक पर्यटकीय आधार हो ।

नागवेली झै सलसल वगीरहेको कालीगण्डकीको छेवैमा शान्त, एकान्त वातावरणमा अवस्थित  ‘रानीमहल’ दरबारको सुन्दरताको कुरै नगरौं । बेलायती दरबार शैलीमा खड्गशमशरेले रानी तेजकुमारीको सम्झनामा, प्राचिन कला कौशलताको प्रयोग गरी निर्माण गरिएको उक्त ‘रानीमहल’ ऐतिहासिक पुरातात्विक सम्पदा भएर पनि प्रकृतिले दिएको अनमोल उपहार भन्दा कम देखिदैन । प्रेमको प्रतिकको रुपमा लिइएको उक्त रानीमहललाई केही दशकदेखी नेपालको ताजमहल पनि भन्ने गरिएको छ ।

जिल्लाका विविध धार्मिक सांस्कृतिक आयामका रुपमा ऋषिकेश मन्दिर, रम्भादेवी, भगवती स्थान, अर्गली, रानीघाट, गोखुङ्गा, रिम्घालेक, रिव्दीकोट, हात्तीलेक, बल्ढेङगढी, माथागढी, बाकुमगढी रानीमहल, भैरवस्थान, मदनपोखरा, रम्भादेवी, पूर्वखोला, रामपुर, राम्दी सुनगुफा, कालीगण्डकी, दर्लममहाकाली, महामृत्युन्जय शिवासन बराङ्दी, अर्गली जस्ता पर्यटकीय तथा धार्मिक स्थलहरूको छुट छुट्टै महत्व रहेको छ । त्यसैले यहाँका धार्मिक तिर्थस्थल, ऐतिहासिक धरोधर र प्राृकतिक सुन्दरताको विविधतालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी यसको अग्र र पृष्ठ सम्बन्धलाई अन्य आर्थिक आयामसंग आबध्द गर्न सकिने संभावना पाल्पा जिल्लासँग अथाहा रहेको छ । चितवन, देवघाट, पोखरा, लुम्विनी , स्वर्गद्धारी, ढोरपाटन,अर्घाखांचीको सुपा देउराली लगाएतका यी पर्यटकीय तथा धार्मिक स्थानहरु प्नि पाल्पाको समिपमै रहेकाले जिल्लाको पर्यटकीय संजालमा जोड्न सकिने सम्भावना पनि प्रवल रहेको छ ।

प्राकृतिक सौन्दर्यले समेत ग्रामीण पर्यटनको पनि त्यत्तिकै सम्भावना देखिन्छ । सवैजसो भूभाग पहाडी धरातलमा पर्ने भएको कारणले सिर्जित चुनौतीहरुलाई प्याराग्लाइडिंग, केवलकार, ट्ेकिंग रुटको रुपमा परिणत गर्ने दीर्घकालीन योजनाद्धारा सम्बोधन गर्न सकिने स्थिति छ । पाल्पाका अन्य दर्शनीय स्थलहरुलाई अन्य जिल्लाका पर्यटकीय स्थलहरुको यातायात मार्गसंग यी धार्मिक र दर्शनीय स्थलहरुलाई जोडेर आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सक्ने संभावना देखिन्छ ।

आफ्नै भाषा र कला संस्कृतिले धनी मगर जातिको बाहुल्यतालाई मगर संस्कृतिको केन्द्र बन्न सक्ने हैसियत पनि पाल्पा जिल्लालाई नै रहेको छ । मगर सांस्कृतिक संग्राहलयको स्थापना गरेर मगर संस्कृतिको अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र पर्यटकीय संभावनाको वृध्दि गर्न सकिने प्रशस्त संभावना पाल्पामा विद्यमान रहेको छ ।

पाल्पाको गौरब पाल्पाको पहिचान पाल्पाली ढाका र पाल्पाली करुवाले पनि बोकेको छ । नेपाल भरकै उत्कृष्ट मानिएका पाल्पाली करुवा र पाल्पालीको ढाकाको आकर्षण देश भरी मात्र हैन, विश्वका विभिन्न मुलुकमा पनि परिचित छ । पर्यटन, व्यावसायिक ढाका र करुवा तथा भाडाबर्तन निर्माणका उद्योगहरुले यस जिल्लाको आर्थिक विकासमा टेवा पु¥याइरहेका छन् । पाल्पाली ढाका र करुवाको देश भित्र र बाहिर रहेको प्रसिद्धिलाई व्यवसायिक अवसरको रुपमा रुपान्तरण गर्न सक्ने संभावनाहरु छन् । त्यसैले पाल्पाली करुवा, ढाका टोपी आदिलाई जिल्लाको पहिचान र ब्राण्डको रुपमा विकास गर्नु आवश्यक छ ।

सिद्धार्थ राजमार्गले यस जिल्लाको सम्बन्धलाई रुपन्देही जिल्ला हुदै भारत संगको सीमानासंग जोडिदिएको छ भने पोखरा, पर्वत, म्याग्दी , मुस्तांग हुदै चीन संगको सीमासंग पाल्पा जिल्लाको पहुंच कायम हुन पुगेको छ। उत्तर दक्षिण फैलिएको भूपी शेरचन मार्ग र सिध्दार्थ राजमार्गको यो अवसरको उपयोग वाट पाल्पाका उत्पादनहरुलाई निर्यात गर्न सक्ने मार्गको रुपमा समेत उपयोग गर्न सकिने मात्र होइन कि स्थलमार्गका पर्यटकहरुआई आकर्षित समेत गर्न सकिन्छ । साथै कालीगण्डकी करिडोरलाई पर्यटकीय, आर्थिक र धार्मिक विकासमा उपयोग गर्न सकिन्छ । कृषिका दृष्टिले माडी, अर्गली र रामपुर फाँट धान खेतीको लागि प्रसिध्द छन् भने कफी र अदुवा सवै जसो ठाँउमा राम्रो संग उत्पादन हुने गर्दछ । मदनपोखराले कृषिमा ल्याएको परिवर्तन अन्य जिल्लाको लागि पनि उदाहरणीय बनेको छ ।  त्यसैगरी आँखालाई नयाँ दृश्य, मनलाई आनन्दको अनुभूति अनि जिब्रोलाई खास परिकार पनि यही पाल्पामा भेटिन्छन् । पहाडकी रानी’ उपमा दिइएको तानसेनको खानामा चुकौनीको विशेष परिकार, सेलरोटी, पकौडा, झिनियाँ रोटी, बटुक, हाँसको छोइलाले पाल्पाको महत्व विशेष बनेको छ । पाल्पाका यी संभावनाहरुलाई अवसरमा बदल्न निम्न कार्यहरु गर्नु पर्ने देखिन्छ :

१. पाल्पालाई पांच नम्बर प्रदेशको मात्र होइन देशकै नमूना पहाडी पर्यटकीय र धार्मिक स्थलको रुपमा विकास गर्ने ।

२. शिक्षा, स्वास्थ्य र पर्यटनको पूर्ण संभावना बोकेको यस जिल्लामा प्रदेशिक विश्व विद्यालय, प्रादेशिक शिक्षण अस्पताल र प्राज्ञिक तथा शैक्षिक उन्नयन केन्द्रको रुपमा विकास गर्ने । धवल पुस्तकालयलाई प्रादेशिक ऐतिहासिक पुस्तकालय तथा अध्ययन अनुसन्धान केन्द्रको रुपमा रुपान्तरण गर्ने ।

३. जिल्लाका पर्यटकीय तथा दर्शनीय स्थलको विकास गर्दै यिनीहरुको पर्यटकीय संभावनालाई दिगो बनाउन अन्य जिल्लाका पर्यटकीय स्थलहरुको नेटवर्कमा आबध्द गर्ने ।

४. विभिन्न जात जातिको संस्कृतिको अतिरिक्त मगर संस्कृतिको उत्थान र व्यावसायिकता अभिवृध्दि गर्ने , मगर संस्कृति अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्ने ।

५. पहाडी भूवनौटको फाइदा लिन केवलकार, प्याराग्लाइडिंग र ट्ेकिंग रुटका क्षेत्रहरुको पहिचान गरि विकास गर्ने । चलचित्र सुटिंगको आउटडोरको प्रशस्त संभावनाको उपयोग र इनडोर सुटिंग सुविधा तथा चलचित्र प्रशोधन सुविधाको विकास गर्ने ।

६. सिमेन्टको लागि चाहिने क्लिंकरको उपलब्धता पाल्पामा राम्रो देखिएकोले प्राकृतिक सौन्दर्यतामा ह्रास नआउने र भूक्षय नहुने गरि सिमेन्ट उद्योगको स्थापना गर्ने ।

७. कृषि उत्पादन प्रणालीका वैकल्पिक संभावनाहरु खोजी गरी स्थान विशेषको लागि उपयुक्त हुने नयां कृषि प्रणालीको विकास गर्ने ।

८. प्रत्येक स्थानीय तहमा एक विशिष्ट उत्पादनको पहिचान हुने गरि एक स्थानीय तह एक उत्पादन को अवधारणा अगाडी बढाउने ।

९. कफी र अदुवा प्रशोधन केन्द्रको विकास गर्ने । अम्रिसो, सूर्यमुखीतेल, अलैंची, सुन्तला खेतीलाई व्यवसायिक रुपमा संचालन गर्ने ।

१०.पाल्पाका पर्यटकीय र धार्मिक स्थलहरुको माटो, ढुंगा वा धातुको मूर्तिका उपहार सामग्रीहरु तयार गर्ने ।

११. भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र संग समेत आबध्दता बढाउने गरी पाल्पामा कम्तीमा ३ वटा कृषि उपज संकलन तथा व्यवस्थापन केन्द्र खोल्ने ।