पहिलो पटक फोरजी सिमकार्ड निःशुल्क वितरण

मङ्सिर १७, काठमाडौ -नेपाल टेलिकमको डोटीस्थित सिलगढी कार्यालयले निःशुल्क रूपमा अति दु्रतगतिको इन्टरनेट सेवा फोरजीको सिमकार्ड वितरण कार्य शुरु गरेको छ । जिल्लामा केही साता अघिदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलोपटक फोरजी सिमकार्ड वितरणको कार्य शुरु गरेकोे हो ।

सो कार्यालयले सूचना प्रकाशित गरी आज बिहान ८ बजेदेखि फोरजी तथा विद्यार्थी सिमकार्ड निःशुल्क वितरण गर्न थालेको हो । फोरजी सिम लिन दर्जनौँ स्थानीयवासी तथा विद्यार्थीले आवेदन दिएका छन् । विद्यार्थी तथा स्थानीयवासी बिहानैदेखि कार्यालयमा लाइन लागेका छन् ।

फोरजी सेवाको सिमकार्ड लिन विद्यार्थीको हकमा एसइई दिएको प्रवेशपत्र, नागरिकता प्रमाणपत्र तथा एकप्रति फोटो अनिर्वाय हुनुपर्ने तथा अन्यको हकमा नागरिकता प्रमाणपत्र र एकप्रति फोटो अनिर्वाय हुनुपर्ने जनाएको छ । सेवा शुरु भएपछि सबैले फोरजी प्रयोग गरुन् भनेर निःशुल्करूपमा फोरजी सिम वितरण गरिन थालिएको नेपाल टेलिकम दिपायलका प्राविधिक प्रकाश चौधरीले बताए ।

यो सेवा शुरु भएसँगै फोरजी नेट छिटोछरितो भएकाले त्यसका ग्राहक दिनहुँ बढ्न थालेको टेलिकमको डोटी कार्यालयले जनाएको छ । जिल्लामा निजी क्षेत्रको कम्पनी एनसेलले पनि आफ्नो सेवा दिइरहेको छ ।