नेपाल सुरक्षित भन्दै मनाङबाट फर्किएनन् १५ विदेशी पर्यटक

चैत २३, मनाङ – विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए ।

उनका अनुसार ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड, अर्जे्न्टिना, जर्मन, इजरायल लगायतका युरोपियन देशका रहेका छन् । माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएको बताइएको छ ।

आफ्नो भन्दा कोभिड–१९को जोखिम नेपालमा कम भएकाले ती पर्यटक स्वदेश फर्किन नमानेको बताइएको छ । नार्पाभूमि गाउँपालिकामा रहेका विदेशी नागरिकको तथ्याङ्कसमेत निकाल्न नसकिएको र सम्पर्क समेत हुन सकेको छैन ।

तिलिचो वेसक्याम्पतिर कति विदेशी नागरिक रहेका छन् भन्ने एकिन नभएको प्रजिअ पौडेलले बताए । ‘, हाम्रो देशमा कोभिडको जोखिम बढी छ, नेपालमा हामी सुरक्षित छौँ भन्ने गर्छन् ,’ पौडेल भन्छन् । सो भाइरसको जोखिम नेपालमा कम रहेको र यहाँ सङ्क्रमण फैलिन समेत नसक्ने अमेरिकन नागरिक डेभिडको भनाइ छ ।