नेपाल राष्ट्र बैंकले ७ अर्बको ट्रेजरी बिल जारी गर्दै

कात्तिक ३, काठमाडौं – नेपाल राष्ट्र बैंकले ७ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार अपराह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनका लागि २० करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल माघ ७ गते परिपक्व हुने जनाएको छ ।

१८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी बिल २०७७ बैशाख ९ गते परिपक्क हुन्छ । त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी २०७७ कात्तिकमा परिपक्क हुनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

त्यस्तै, व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।