तीजलाई विना तडकभडक मनाउने गर्नुपर्छ : संस्कृतिविद् डा. गुरुङ

नेपाली महिलाहरुको महान चाड तीज पर्व आज मनाइँदै छ ।अन्य बर्षको तुलनामा यस बर्ष तीजको रौनक छैन । कोरोना माहामारीका कारण महिलाहरु तीज घरमै मनाउन बाध्य बनेका छन् । मन्दिर जाने, नाचगान गर्ने स्थिति अहिले छैन  ।  तीज श्रीमानको  दीर्घायूका लागि तीजको ब्रत बस्ने प्रचलन रहेको छ ।

खासमा तीज के हो ? र यसको महिमा के छ अनि यसलाई कसरी मनाइनुपर्छ भन्ने विषयमा केन्द्रीत रहेर इमेलखवर डटकमले संस्कृतिविद् डा. जगमान गुरुङसँग गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

महिलाहरुले भब्यरुपमा मनाउँदै गरेको तीज पर्व के हो ?
खास गरी भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइन्छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविाहित केटा–केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर प्रचार भइरहेको छ । अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ ।
समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।

यसको धार्मीक पक्ष कस्तो छ ?
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर, पिता हिमालयले पार्वतीको इच्छाविपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । महिलाहरुले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् ।

तीजलाई कसरी मनाइनुपर्छ जस्तो लाग्छ यहाँलाई ?
पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं फेसन प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको देखिन्छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनिुपर्छ । हिजो खस, बाहुन र क्षेत्री समुदायको मात्र पर्व मानिने तीन समयअनुसार बदलिँदैछ ।

यो पर्वको महत्व के छ र यसलाई अहिले सबैले आत्मसात् गरेका छन ? यसलाई कसरी हेर्नुभएको छ ?
रातो सारीमा सजिने अनि तीजे भाकामा छमछम नाच्न सबै समुदायका महिला उत्तिकै हौसिएका देखिन्छन् अहिले । गाउँमा छँदा बाहुन, क्षेत्री समुदायका महिलाले चौतारीमा बसेर गीत गाएको घुर्मैलो सम्झना मात्रै छ बाल्यकालको । यो कुनै जात र धर्म विशेषको पर्वभन्दा संस्कृति बन्दै गएको छ । त्यसैले सबै समुदायका महिलाले अहिले तीन स्वीकार गरेको देखिन्छ । तीजलाई सबै समुदाय र वर्गको साझा संस्कृतिमा रुपान्तरण गर्न जातीय संगठन पनि सक्रिय छन् । केही सीमित जातिमा केन्द्रित तीज फराकिलो बन्दै जानु जातीयता र धार्मिक सहिष्णुताले काम गरेको छ । कुनै बेला महिलाको स्वर मात्रै हुने तीजे गीतमा अचेल पुरुष आवाज पनि थपिएको छ । लोकभाका होस् या तीजे देशमै पश्चिमाञ्चलले अगुवाइ गर्दै आएको छ । तीजको ब्रतले महिलालाई एकप्रकारको आनन्दानूभुती दिइरहेको छ । तीजलाई विना तडकभडक मनाउने गर्नुपर्छ ।

अन्त्यमा केही भन्नु छ ?
रातो साडी लगाउँदा महिलाले आत्मबल बढेको आभास गर्छन् । तीजे भाकामा छमछमी नाचेको पाइन्छ । धर्म निरपेक्ष नेपालमा तीज सबै धर्म र जातिको भइसकेको छ । यसलाई सभ्यरुपमा एउटा महत्वपूर्ण पर्वकारुपमा मनाउन सबैलाई आग्रह गर्दछु ।