तालिबानी आक्रमणमा जिल्ला प्रहरी प्रमुख मारिए

कात्तिक २०, एजेन्सी – अफगानिस्तानका उत्तरी बाल्ख प्रान्तको एक जिल्लाको सदरमुकाममा बुधबार बिहानै तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख र तीन जना प्रहरी अधिकृत मारिएका छन् ।

स्थानीय प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फरहादले चहर बोलाक जिल्लाका प्रहरी प्रमुख मेजर कलाउमुद्दीनको हत्या भएको जानकारी दिनुभयो । फरहादका अनुसार तालिबान समूहले सदरमुकामका विभिन्न स्थानबाट बन्दुक र ग्रिनेड सहित बिहान करिब ४ बजे आक्रमण गरेका थिए ।

सामान्यतया शान्तिपूर्ण रहेको उत्तरी विकट हिमाली यस प्रान्तमा पछिल्लो समय तालिबान आक्रमण बढेको छ । खासगरी अफगान सुरक्षाफौजले विद्रोही विरुद्ध कारबाही तिब्र बनाउन थालेपछि हिंसात्मक घटना बढेको अधिकारकर्मीहरुको भनाई छ ।