ट्रम्पको नयाँ आप्रवासी नियमका कारण अमेरिका जाने नेपालीले अधिक आयस्रोत देखाउनुपर्ने

साउन २८, वाशिंटन डीसी– ट्रम्पको नयाँ आप्रवासी नियमका कारण अमेरिका जान चाहने नेपालीहरुले अब अधिक आयस्रोत देखाउनुपर्ने छ ।

अमेरिकाले नयाँ आप्रवासन नियम ल्याएका कारण अब जान चाहानेले अधिक आयस्रोत देखाउनु पर्ने भएको हो । अमेरिकाले नेपालीहरुलाई समेत असर गर्नेगरी नयाँ आप्रवासन नियम ल्याएको छ ।

नयाँ आप्रवासन नियम अनुसार अमेरिकामा कानुी रुपमा बस्दै आईरहेका आप्रवासीले कुनै सामाजिक कामबाट फाइदा लिइरहेको भए उनीहरु अमेरिकी स्थायी बसोबास अनुमतिपत्र ग्रिनकार्डका लिन अयोग्य ठहरिनेछन् ।

त्यस्तै नयाँ नियममा अमेरिका प्रवेश गर्नुभन्दा अघि सम्भावित आप्रवासीले अध्यागमन अधिकारीलाई आफूले कुनै सामाजिक कार्यक्रमबाट फाइदा नलिने विश्वस्त पार्नुपर्ने उल्लेख छ । त्यसो गर्न नसके उनीहरु अमेरिका प्रवेश गर्न पाउने छैनन् ।

यो नियम अमेरिका आउन चाहने सम्भावित आप्रवासी वा अमेरिकामा बसोबास गरिरहेका तर, ग्रिन कार्ड नपाइसकेका वैध आप्रवासीका हकमा समेत लागू हुनेछ ।

अमेरिकाका सामाजिक कार्यक्रमहरु मेडिकेड, हाउजिङ असिस्टेन्ट वा फूड स्टाम्पलगायतका सामाजिक कार्यक्रको सेवा लिइरहेका आप्रवासीलाई पनि यो नयाँ नियमले समेटेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाको अध्यागमन तथा नागरिकता सेवाका कार्यकारी निर्देशक केन कुचनेलीले नयाँ नियम सार्वजनिक गर्दै अमेरिका आउने आप्रवासीहरु सामाजिक कार्यक्रममार्फत अमेरिकी करदाताका लागि भार बन्दै आएका कारण यस्तो नियम ल्याइएको जनाएका हुन् ।

यसअघि पनि अमेरिका आउने सम्भावित आप्रवासीले आफ्नो आयश्रोत देखाउनु पर्ने व्यवस्था थियो । तर पछिल्लो नियमले उच्च आयश्रोत देखाउनुपर्ने अवस्थालाई जोड दिएको छ । यसले करिब ३ लाख ८३ हजारभन्दा धेरै प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति अनुसार नयाँ नियम सार्वजनिक गरिएको हो । राष्ट्रपति ट्रम्पले अमेरिका आउन चाहने आप्रवासीहरु दक्षताका आधारमा आउनुपर्ने बताउँदै आएका छन् ।