जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेद्वारा राजीनामा

मंसिर ६,काठमाडौ – जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिनुभएको छ । ३७ वर्षदेखि सत्तामा रहनुभएका मुगावेले मंगलबार राजीनामा दिनुभएको हो । उहाँको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर सुनाएका थिए । मुगावेले आफूले स्वतन्त्र रुपमा तथा राजी खुशीले राजीनामा दिएको पत्रमा उल्लेख गर्नुभएको छ । यस्तै शक्तिको सहज हस्तान्तरणका लागि पनि आफू तयार रहेको उहाँले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । सन् १९८० देखि सत्तामा रहँदै आउनुभएका मुगावेको ठाउँमा बअ पूर्व उपराष्ट्रपति एम्मर्सन मन्नगागावाले सत्ता सम्हाल्ने सत्तारुढ जानु–पिएफ पार्टीले जनाएको छ ।

यो महिनाको सुरुमा मुगावेले मन्नगागावालाई बर्खास्त गरेपछि जिम्बाबेमा राजनीतिक संकट गहिरिएको थियो । यस्तै गएको हप्ता सेनाले मुगाबेलाई घरमै नजरबन्दमा राखेर नदेखिने गरी सत्ता आफ्नो हातमा लिएको थियो । त्यसपछि मुगाबेमाथि राजीनामा दिन दबाब पर्दै आएको थियो । उहाँलाई जानु–पिएफ पार्टीले नेताबाट पनि बर्खास्त गरेको थियो । तर मुगाबेले भने राजीनामा नदिने बताउँदै आउनुभएको थियो । मंगलबार भने उहाँले राजीनामा पत्र संसदमा पठाउनु भएको हो ।