जनताबाट कटेको जन प्रशासन

विष्णु प्रसाद पाण्डेय

भदौं २२, काठमाडौं —जन प्रशासनको अर्थ हुन्छ– जनताको लागि, जनता आफैले संचालन गरेको प्रशासन । यो लोकतन्त्रको आधार पनि हो । जन प्रशासनलाई अर्को शव्दमा निजामती प्रशासन पनि भन्न सकिन्छ । यो सरकारी नीति, योजना निर्माणको सहयोगी अंग हो भने कार्यान्वयनको महत्वपूर्ण हतियार पनि हो । यो राज्य र जनता वीचको सम्वन्धको कडी पनि हो । निजामती प्रशासनको मुल उद्देश्य सेवा प्रवाह भएकोले राज्यको शासन–प्रशासनको प्रभावकारीताको मापन प्रत्यक्षता यसैमा आधारित हुन्छ ।

नेपालको निजामती प्रशासन संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको छ । राज्यको स्थायी सरकारको रुपमा रहेको यो क्षेत्र आज सबै भन्दा अस्थिर छ । यसले निस्पक्षता र तटस्थता जस्ता जन प्रशासनका विशेषताहरु जोगाइ राख्न अर्थात कायम राख्न सकेको छैन् भन्ने आरोप लाग्ने गरेको छ । प्रशासन माथि राजनीतिक हस्तक्षेप बढ्दो छ । राजनीतिले प्रशासन चलाउन खोज्दा र प्रशासकले राजनीति गर्न खोज्दा जनताबाट यसको सम्वन्ध कटेको जस्तो अनुभूती भएको छ ।

जनताप्रति उत्तरदायि हुनुपर्ने प्रशासन प्रशासक प्रति उत्तरदायी बन्न पुगेको छ । यो पुरातनवादी चिन्तनबाट मुक्त हुन सकेको छैन । सेवाग्राहीहरुको सन्तुष्टि नै आफ्नो सन्तुष्टि मान्नु पर्ने प्रशासन चाकडी र चाप्लुसीमा रमाई रहेको छ । भ्रष्टाचार, विकृति र विसंतीको अर्को नाम निजामती प्रशासन बन्न पुगेको जस्तो छ । राजनीतिकरणका कारणले यसमा प्रत्यक्ष्य, अप्रत्यक्ष प्रभाव पारेकोे छ, जसमा राजनीतिमा अपराधिकरण तथा अपराधमा राजनीतिकरणले समेत हो भन्नुमा अत्युक्ति नहोला । कर्मचारीलाई जीवन निर्वाह योग्य पारिश्रमिक छैन, जसले स्वाभिमानलाई बचाई राख्न गाह्रो पारेको छ । आम कर्मचारीमा असुरक्षा र अभाव व्याप्त छ ।

कर्मचारीको मनोवल उच्च राख्ने, उत्पे्ररणा बढाउने प्रयास भएका छैनन् । आज सबै बिकृति र बिसँगतिको कारक निजामती कर्मचारी नै हुन जस्तो गरी राज्यले नै प्रचार र व्यवहार गरी राखेको छ । बर्तमानमा आम जनताका माग र आकांक्षाहरुमा व्यापक वृद्धि भै राखेको छ भने प्रशासन प्रति जनविश्वास घट्दो छ । यस्तो अवस्थामा सम्पूर्ण प्रशासक—कर्मचारीले जन आकांक्षा र जन विश्वास वीच तादम्यता कायम गरी जनभावना र जनआकांक्षा अनुरुप आफ्नो काम कार्वाही गर्नु जरुरी छ ।

सक्षम निजामति प्रशासन, बिकास, समृद्धि र शुसाशन भन्ने नाराका साथ २०७६ सालको निजामति सेवा दिवस मनाउन लागिएको छ । विगतका निजामति सेवा दिवसले जस्तै यस वर्ष पनि एउटा नारा तय र थप गर्ने कार्य मात्र यस दिवसमा नहोस, सबैको चिन्ता र सरोकारको विषय बनेको छ ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दे संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन, विकास समृद्धिको आकांक्षा पूरा गर्ने दिशामा निजामति प्रशासन खरो उत्रने छ र उत्रनु पनि पर्छ ।

साँचो अर्थमा यो जनताप्रतिको सर्मपण हुनेछ । त्यस दिन मात्र नेपालको निजामति प्रशासन नेपाली जनताको प्रशासन बन्नेछ । निजामती सेवा दिवस, २०७६ को शुभकामना ।

लेखक नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका पूर्व केन्द्रीय अध्यक्ष हुन् ।