चीनमा कोरोना भाइरसका ५७१ संक्रमित

माघ ९,एजेन्सी– चीनमा कोरोना भाइरसको संक्रमणका विरामीको सङ्ख्या ५७१ जना पुगेको जानकारी चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका छन् ।

बुधबार साँझसम्म चीनका अधिकारीहरुले उक्त संक्रमणबाट विरामी हुनेहरुको सङ्ख्या ५७१ पुगेको स्वास्थ्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो ।

हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियमन गरिएको छ ।

चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको संक्रमण फैलिएको छ । स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको बताएको छ ।

यसका साथै मानिसहरुको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेको पनि जनाइएको छ । यो संक्रमणको संख्यामा करिब ५ हजार ९०० जनालाई उपचारार्थ भर्ना गरिएको थियो ।

रासस