चित्रकार बनेपालीले बङ्गलादेशमा गरे एकल चित्रकला प्रदर्शनी

मङ्सिर १०, काठमाडौँ -भक्तपुरका चित्रकार दीपेन्द्रमान बनेपालीले बङ्गलादेशको राजधानी ढाकामा ‘एकल चित्रकला प्रदर्शनी गरेका छन । ढाकामा आयोजित ‘अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनीका अतिथि कलाकार बनेपालीले नेपालको संस्कृतिसँगै पुरातात्विक, ऐतिहासिक तथा धार्मिक क्षेत्रको पहिचान झल्कने चित्र समावेश गरेर चित्रकला प्रदर्शनी गरेका हुन ।

प्रदर्शनीसँगै उनले नेपाल भ्रमण वर्ष २०२० मा “नेपाल घुम्न जाऔँ” भन्दै अतिथिहरुलाई नेपाली ढाकाटोपी लगाएर स्वागत गरे । बनेपालीले नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालका मठमन्दिर, लुम्बिनी, काठमाडौँ, पोखरालगायत विभिन्न पर्यटकीय क्षेत्रका बारेमा सहभागीलाई जानकारी गराइएको वताए ।

बङ्गलादेशका वरिष्ठ कलाकार प्रा हमिद उदजमान खानले अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी ढाकामा पहिलो पटक भएको बताउँदै आपसी सम्बन्ध विस्तारमा यस्ता कार्यक्रमले पुलको काम गर्ने उल्लेख गरे ।

शनिबारदेखि शुरु भएको साताव्यापी प्रदर्शनी नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहेको प्रदर्शनीमा चित्रकलातर्फ २० र हस्तकलातर्फका २६ कलाकारले सहभागिता जनाएका छन् ।