चामुण्डा मेयर कप माघ देखि २५ सञ्चालन हुने

माघ ७, काठमाडौं – नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको सहयोग तथा चामुण्डा स्नुकर क्लबको आयोजनामा प्रथम चामुण्डा गोकर्णेश्वर मेयर कप ओपन सिक्स रेड स्नुकर च्याम्पियनसिप माघ २५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपालका विभिन्न ४५ जिल्ला र भारतका गरी २ सय ५६ खेलाडीको सहभागिता अपेक्षा गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्व राष्ट्रिय च्याम्पियन नेपाल विलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मीले जानकारी गराए ।

नेपाली स्नुकरको इतिहासमा १ सय ४८ खेलाडी सहभागी प्रतियोगिता नै सबै भन्दा धेरै खेलाडी सहभागी भएको प्रतियोगिता हो । करिब ६ महिना अघि चामुण्डा स्नुकर क्लबले नै आयोजना गरेको चामुण्डा स्नुकर प्रतियोगितामा १ सय ४८ खेलाडी सहभागी भएका थिए ।

विजेताले १ लाख ५० हजार, उपविजेताले ६० हजार र तेश्रो हुने दुई खेलाडीलाई जनही २० हजार नगद पुरस्कार दिइने छ । ७५ अंकसम्म सर्वा्धिक ब्रेककर्तालाई ३० हजार तथा सो भन्दा मुनी सर्वा्धिक ब्रेककर्तालाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट खेलाडी, अनुशासित खेलाडी र उदीयमान खेलाडीलाई समान १०–१० हजार नगद प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख खर्च हुने बताइएको छ । फागुन १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु जोरपाटीस्थित आयोजक क्लबको आफ्नै हलमा हुनेछ । आयोजकका अुनसार सिक्स रेड स्नुकर प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो ।