ग्यास आयातको परिमाण बढाइयो, एक हप्तामा सहज हुने

चैत २, काठमाडौं – सरकारले कोरोना भाइरसको त्रास देखाएर दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव गराएको भन्दै बजार अनुगमन गर्न थालेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वयम उपभोक्ताको भेषमा काठमाण्डौ र पोखराको बजार अनुगमनमा निस्किएका हुन् हो । फागुन अन्तिम हप्तादेखि नै काठमाण्डौको विभिन्न ठाउँको स्थलगत अनुगमन गर्न थालिएको छ ।

कोरोनाको त्रासका कारण आपूर्ति प्रणालीमा समस्या आएको, खाद्यान्न, औषधि तथा इन्धनको अभाव रहेको खबर आएपछि अनुगमनलाई तीव्र बनाइएको मन्त्री भट्टले बताएका छन् ।

काठमाण्डौमा भने नेपाल ग्यासमा उपभोक्ताको चाप देखिएको छ । उपभोक्ताले भूकम्प र नाकाबन्दीको समयमा जस्तै सङ्कट व्यहोर्नुपर्ने त्रासका कारण दुईभन्दा बढी सिलिण्डर भण्डारण गरेका कारण ग्यास चाप देखिएको हो ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले ग्यासको अभाव हुनसक्ने आशङ्कामा सर्वसाधारणले ग्यास भण्डारण गरेका कारण ग्यास वितरणमा असन्तुलन देखिएको बताउछन् ।

‘ग्यास आपूर्तिमा कुनै समस्या छैन, निरन्तर नै ग्यास आइरहेको छ’, उनले भने , ‘एक सातामा बजारमा देखिएको हाहाकार समाप्त हुन्छ ।’

रासस