खाना पकाउने ग्याँसको बिक्री बन्द

पुस २०,विराटनगर – मोरङका ग्याँस विक्रेताले खाना पकाउने ग्याँसको बिक्री वापत पाइने कमिशन वृद्धिको माग गर्दै हिजो देखि ग्याँसको बिक्री वितरण बन्द गरेका छन् । बिक्रेताले विरोध स्वरुप पसल बन्द गरी आफ्नो पसलको चाबी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएका छन् । ग्याँस विक्रेता महासंघ नेपालले ग्याँस उद्योगले बिक्रेतालाई विगत १५ वर्ष देखि कमिशन वृद्धि नगरेको जनाएको छ । अहिले बिक्रेताले प्रतिसिलिण्डर ३५ कमिशन पाउँदै आएका छन् ।

महासंघका केन्द्रीय सदस्य तेजराज श्रेष्ठले कमिशनको रकम बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा दुई पटक बैठक बसे पनि कुनै निर्णय नभएपछि बाध्य भएर बिक्री वितरण बन्द गर्नु परेको बताए । विराटनगरमा हाल ग्याँसकोे मूल्य एक हजार ३५५ रहेको छ ।