कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए खुवाइँदै

असोज ३०, काठमाडौं – देशका सबै स्थानीयतहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

कार्यक्रम अन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्ष मुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल), छ महीनादेखि दुई वर्ष्भित्रका चारलाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ ।

बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा सोही सङ्ख्यामा स्वास्थ्यकर्मी परिचालन हुने छन् ।

मन्त्रालयले पछिल्लो समय सो कार्यक्रम स्थानीयतहलाई नै हस्तान्तरण गरिसकेको छ । सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहले विगत वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त सो कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेका थिए । मन्त्रालयले स्थानीय तहलाई प्राविधिक र अन्य समन्वयको मात्र सहयोग गर्दछ ।

ती कार्यक्रमका लागि करीब तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । ती दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई दैनिक ४०० भत्ताको व्यवस्था भएको मन्त्रालयले जनाएको छ ।