काठेखोला भलिबल प्रतियोगिता हुने

माघ, ५ काठमाडौं – भलिबल खेलको विकास र खेलाडी उत्पादनको लक्ष्यसहित बाग्लुङ काठेखोला गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगिता हुने भएको छ ।

यही माघ १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा गाउँपालिकाभित्रका प्रत्येक वडाबाट बढीमा दुई समूहले सहभागिता जनाउने छन् । गाउँपालिकामा आठ वडा छन् । प्रतियोगिताको विजेताले नगद रु एक लाख ३२ हजार र उपविजेताले रु ८० हजार पुरस्कार पाउने गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिए ।

“राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनसँगै खेलाडी पहिचानका लागि प्रतियोगिता राखिएको हो”, उहाँले भन्नुभयो । गाउँपालिकाले भलिबलसँगै साङ्गीतिक प्रतियोगताका लागि चालु आर्थिक वर्षमा रु १५ लाख बजेट छुट्टाएको थियो । प्रतियोगिता गाउँपालिकाको वडा नं ३ धम्जामा हुने जनाइएको छ ।