इरान र इराकको सीमामा शक्तिशाली भूकम्प, कम्तिमा ६५ को मृत्यु

कात्तिक २७,काठमाडौं – इरान र इराकको सीमामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ।

अमेरिकी भूर्गभविदहरुका अनुसार इराकको कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलव ३ रेक्टर स्केलको भूकम्पमा ३ सयभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ।

भूकम्पपछि दुवै देशका सीमावर्ती क्षेत्रका कयौं भवन ध्वस्त भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ ।

भूकम्पपछि त्यहाँको विद्युत् र सञ्चार सेवा अबरुद्ध भएको छ । भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएको र उनीहरु सडकमै बसिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिबिसीका अनुसार दुवै देशका मिडियाले भूकम्पपछि स्थानीय व्यक्तिहरु घर छोडेर बाहिर निस्किएको बताएका छन्। भूकम्प गएपछि इराकको राजधानी बगदादको मस्जिदमा भगवानसँग क्षमा माग्न लाउडस्पिकरबाट ठूलो आवाजमा धार्मिकग्रन्थ कुरान पढ्न सुरु भएको थियो।

इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तिमा पनि ८ वटा गाउँमा ठूलो क्षति पुगेको खबर आएको बताएका छन् ।

इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ। भूकम्पको धक्का टर्की र इजरायलमा पनि महसुस गरिएको छ।