इराकमा सरकारविरोधी प्रदर्शन

असोज १६, काठमाडौं –इराकमा भएको देशव्यापी विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु हुनुको साथै २ सय व्यक्ति घाइते भएका छन्। आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा प्रदर्शन भएको हो।

विरोध प्रदर्शनका साथै जारी हिंसाको गृह र स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा भर्त्सना गरेका छन् । सर्वसाधारणका ती मागको सही र वस्तुपरक रूपमा ल्याउने तथा शान्तिपूर्ण प्रदर्शन हुन नदिने उद्देश्यले हुल्लडबाज समूहले उक्साएको सरकारको आरोप छ। घाइते भएका २ सय व्यक्तिहरूमा ४० जना सुरक्षाकर्मी पनि छन् ।

घाइतेमध्ये धेरैजसो प्राथमिक उपचारपछि घर फर्किएका र बाँकी ५० जना घाइतेको अझै अस्पतालमा उपचार भइरहेको छ। मंगलवार अपराह्न सयौं इराकी प्रदर्शनकारीहरूले बगदादको केन्द्रमा रहेको तहरीर स्क्वायरमा भेला भएर विद्युत्, सफा पानी र रोजगारीको अवसरको अभावसहित आधारभूत सेवा नभएको भन्दै विरोध प्रदर्शन गरेका थिए।
रासस