आलमलाई ५ दिन थुनामा राख्न अदालतको आदेश

कात्तिक ३, काठमाडौं – जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

आलमलाई जिल्ला अदालतले २८ असोजमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। आज जिल्ला अदालतबाट उनलाई दोस्रो पटक म्याद थपिएको हो। न्यायाधीश चाणकमणि अर्यालको इजलासले म्याद थपको आदेश दिएको हो ।

आलममाथि २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप छ। १२ वर्षअघिको सो हत्याकाण्डमा आलमलाई पक्राउ गरी अदालत पेश गर्न सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले ६ पटक पत्राचार गरेपछि आलम पक्राउ परेका थिए ।

आलम नेपाली कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नम्बर २ बाट निर्वा्चित प्रतिनिधि सभा सांसद हुन् ।