आठ रुपैयाँको भेडा

मदन कृष्ण श्रेष्ठ
२०१६ —१७ साल दसैंको कुरा हो । म त्यस्तै ९ — १० बर्ष उमेरको थिएँ ।

दसैं किनमेलमा म बा संग दशरथ रंगशाला पुगेको थिए । रंगशालाको चौर अहिलेजस्तो भब्य थिएन ।

चौर सानो पर्खालले घेरिएको थियो, जुन ठाँउठाँउमा भत्किएको थियो । सरकारका तर्फबाट दशैंका लागि बेच्न राखिएका मनग्मे भेडा र च्याङग्रा चौरभरि थिए । धेरै भेडामा आखा दौडाएपछि बा टक्क अडिनुभयो र एउटा भेडा देखाउदै त्यसको दाम सोध्नुभयो ।

भेडा बेच्ने मान्छेले भेडालाई दुई हातले जुरुक्क उचाल्यो र तौलको अनुमान गर्दै चौबीस रुपैयाँ मुल्य तोक्यो । बाले मोलतोल नगरि खुरुक्क चौबिस रुपैयाँ गनेर दिनुभयो ।

भेडा डोर्याएर के हिडेका थियौं, एक जना अपरिचितले सोधे ‘भेडाको ऊन बेच्ने हो ?

बाले बेच्ने त हो तर कति पैसामा दिनुहुन्छ ? भनेर सोधेपछि त्यो मान्छेले भेडालाई नियालेर हेर्दै भन्र्यो ‘१६ रुपैयाँ दिन्छु ।’

बा राजी हुनुभयो  १६ रुपैयाँ बाको हातमा थमाएपछि त्यो मान्छेले भटाभट भेडाको शरीरमा कैंची चलायो र एकैछिनमा एक थैलो ऊन थुपार्यो । हेदाहेदैं ढङग नभएको हजामले कपाल काट्दा मान्छेको कपाल जस्तो देखिन्छ, त्यस्तै देखियो भेडाको शरीर ।

हामी त्यहि टाटेपाटे डोर्याउदै घर फर्कियौ ।

घर आएर भेडा मार हानेपछि पो थाहा भयो, टाटेपाट भेडाको भुत्ला उखेल्न कति ग्राहो हुन्छ भन्ने ।

लामा भुत्ला भए तातोपानी हालेपछि सलक्क हातैले तान्न सकिन्थ्यो । तर, टाटेपाटे र ठुटो रौं न हातले उखेल्न सकिने, न अरु उपाय नै हुने । भुत्ला खुइल्याउनेहरुलाई घन्टौंसम्म आपत् पर्यो ।

समय बदलियो बजार भाउ सोचेको भन्दा धेरै बदलियो । हिजोआज त आठ रुपैयामा भेडा त के आधा पाउ गोलभेडा पनि पाउन मुस्किल पर्छ । तर, त्यो बेला आठ रुपैयामा भ्या भ्या कराउने चार खुटा, दुई सिङ र टाउको पुच्छर भएको सिङ्गै भेडा किन्न सकिएको थियो ।

बाल्यकालको समय सम्झिदा पनि कुनै कथा सम्झेजस्तो हुन्छ । त्यतिबेलाको समय हराइसक्यो ।

तर, म सानै छदा पसलमा केहि किन्दा फोसा दिने चलनचल्तीमा थियो । म ठुलो हुँदासम्म पनि कोहीकेही पुराना पसलमा फोसा दिने चलन कायमै थियो ।

समयक्रम अनुशार यस्तो चलन हराउदै गयो । किनमेल गर्न आउने बच्चाहरुलाई लोभ्याइराख्न, फेरिफेरि आफ्नै पसलमा किन्न आउन भनेर बच्चासंगै आउने बाआमालाई खुसी बनाउन पसलेहरुले फोसा दिर्ने गर्दर्थे ।

बा र काकाहरुका पालमा कुखराको अन्डा किन्दा हासको अन्डा फोसा दिने चला थियो रे । कोहिकोहिले नेवारीमा  ‘खा खें न्याय हें खें फोसा‘‘।अर्थात कुखुराको फुल किनेर हाँसको फुल सितैमा पाइने भन्दै गीत पनि गाँउथे ।

एकपटक हजुरबुवाले मलाई मासको दाल , जिरा , मरिच र तेल किन्न पठाउनु भयो । म घरछेवैको नातिदाईको पसलमा पुगें ।

सबै सामान किनेर पैसा तिरेपछि मैलै नातिदाइसँग हात पसादैं फोसा मागे । मेरो कुरा सुनेको नसुन्यै गरी नातिदाइले मुन्टो गरि नातिदाइले मुन्टो बटारे । मैले फेरि भने  ‘फोसा दिनुस न ’ ।

उनले पसलको दाँयाबाँया हेर्दै  भने ‘केही छैन’ । ‘के फोसा दिने तिमीलाई ? ’ मैले जे भएनि दिनुस न , त्यत्रो सामान किनेपछि त जे भए नि फोसन त दिनैपर्यो नि, ओहो भनेर जिद्धी गरें ।

उनले फेरि भने  तिमीलाई फोसा दिने खालको केहि छँदै छैन त, के दिने मैले ? ठ्याक्कै त्यति बेला मैले नातिदाइको छेउमा ढिक्काढिक्का मिश्रीको थुप्रो देखें । त्यहि थुप्रोतिर हेर्दै उसो भए ‘ मिश्री  फोसा दिनुस् भने ’

नातिदाइले आफ्नै लवजमा भर्ने मिश्रीसिश्री केही छैन । कहाँ पाएर दिने ? मैले मिश्रीको थुप्रो देखाउदै भने ‘ऊ के त त्यहाँ छ नि, त्यो मिश्री , त्यो फोसा दिनुस न ।’

नातिदाइले मुसुमुसु हाँस्दै मैले देखाएको थुप्रोबाट चार पाँच टुक्रा मेरो हातमा राखिदिए ।

खुसी हुदैँ पसलबाहिर आएर मिश्री मुखमा हालेर कड्याम्म टोक्दा पो थाहा भयो, मिश्रीको ढिक्का भन्ठानेको त नुनको ढिक्का पो रहेछ ।

नुनको ढिक्का टोक्दा मेरो अनुहार बिग्रियो । उस्तैउस्तै देखिने नुन र मिश्री मैले छुट्याउन सकेनछु ।

त्यतिबेला खुसी हुने र आनन्द आउने काम थुप्रै थिए । ती कुराहरु सम्झिदा अहिले पनि हासो उठ्छ । बाल्यकालका बदमासी सम्झिदा बेलाबेला डर लागेजस्तो पनि हुन्छ ।

त्यसताकाका प्राय जसो केटाकेटीहरुले आफ्ना बाउको गोजीबाट एक दुई रुपैया उछिट्याएकै हुन्थे । ११ —१२ बर्षको उमेर हुँदा मैले पनि बाको खल्तीबाट १० —१२ पल्ट जति पैसा चोरेको थिएँ ।

कहिले पाँच पैसा, कहिले दश पैसा, कहिले एक सुका, कहिले एक मोहर, त कहिलेकाहि एक रुपैयासम्म पनि बाको गोजीबाट उछिट्याउँथे ।

पाँच दस पैसामा एक कप दूधको चिया आउने समयमा एक रुपैंया चोर्नु भनेको अहिले एक कप दूधको १५ —२० रुपैया पर्ने समयमा हिसाबले ५० —१०० रुपैयाँ चोरेबराबर हुन्छ ।

केटाकेटीमा बाको खल्तीबाट ५ — १० चोर्दैमा कानुन लाग्दैन ।

तर पनि चोर्ने बानी गर्नु भनेको राम्रो काम बिल्कुलै होइन ।

बाको खल्तीबाट पैसा चोर्ने बानी लागेको समयमा मोटरमार चुरोटको दुई पैसा, फुलमार चुरोटको एक पैसा पर्थो ।

त्यतिबेला अहिलेजस्तो रङगीचङगी खोल भएको चकलेट त पाइदैनथ्यो ।

ठुलो केराउको दाना जस्तो गोलोगोलो अनेक रंगको पिपलमेट एक पैसामा चारओटा आउने गर्दर्थे । त्यस्तैगरि एक पैसामा दुईवटा नैनकटाई बिस्कुट पनि पाइन्थ्यो ।

अहिले एक रुपैया दुई रुपैयाका सिक्का भएजस्तै त्यतिबेला एक पैसा, दुई पैसा, पाँच पैसा र १० पैसाका तामा र पित्तलका सिक्का चल्तीमा थिए ।

त्यस्तै बिचमा प्वाल परेको चार पैसाको पित्तलको सिक्का पनि चल्तीमा थियो ।

बाको गोजीबाट चार पैसा उछिट्याएका बेला म कहिले फुपुका छोरा भाइराजासँग त कहिले साथीहरुसँग प्वाल भएको चार पैसा तिरेर धरहर उक्लिन्थें ।

धरहराका आठौं तलामा रहेको बरन्डाबाट खुटा झारेर हल्लाउदै मोटमार चुरोट तान्दै धुवाँ उडाउथें ।

हिन्दी फिल्मका त्यसबेलाका चर्चित हिरोहरु देवानन्द, सम्मी कपुर, राजेन्द्र कुमारहरुले चुरोट तानेको देखेर र साथीहरुसंग बसेर लहैलहैमा मैले चुरोट तान्न सिकेको थिएँ ।

अन्त बसेर चुरोट खाँदा अरुले देख्लान कि भन्ने पीर ।

तर, नौतले धरहराको आठौं तलामा तलाको बरन्डामा बसेर चुरोट खाँदा कसैले देख्दैनन् र देखे पनि चिन्लान् भन्ने पिर हुदैन्थ्यो ।

डर नभएपछि हामी मस्तसँग चुरोटको लामोलामो सर्को तानेर दुनोटजस्तो गोलोगोलो धूवाँ बनाउदै आकाशतिर फ्याक्थ्यौं  ।

बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठद्धारा लिखित ‘महको मह’ पुस्तबाट साभार गरिएको