आजदेखि धितोपत्र बजार बन्द

चैत १०, काठमाडौं कोरोनाभाइरसको महामारीका बीच नेपालको धितोपत्र बजार बन्द हुने भएको छ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले चैत १० गते देखि पाँच कारोबार दिनका लागि धितोपत्र बजार बन्द गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई आदेश दिएको हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा १ को खण्ड (घ) मा बोर्डको विशेष अधिकार अन्र्तगत लगानीकर्ताको हितलाई ध्यानमा राखी बोर्डले धितोपत्र बजारसँग परामर्श गरी धितोपत्र बजार बन्द गर्न आदेश दिने सक्ने व्यवस्था रहेको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेञ्ज लि. सँग परामर्श गर्दा कोरोनाभाइरसको जोखिमको त्रासले गर्दा लगानीकर्ता तथा सदस्य दलालको धितोपत्र कारोबारमा सहभागिता घटदो क्रममा रहेको पाइएकोले कोरोनाभाइरसको जोखिमलाई न्यूनीकरण गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई उच्च प्राथमिकता दिइ दोस्रो बजारमा हुने नयाँ कारोबार केही समयका लागि बन्द गर्न आवश्यक देखिएको बोर्डले जनाएको छ ।