अलैँचीमा नयाँ कीराको प्रकोप, पूरै बगान सुक्दै

बैशाख २९, पाँचथर – पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् ।

अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो किराले यस वर्ष अलैँचीको सबै पात खाएपछि अलैँचीका बगान सुक्न थालेका हुन् । गत वर्ष केही बोटमा देखिएको यो प्रकोपले यस वर्ष गाउँपालिका–२ फलैंचामा प्रकोपको रूप लिएको छ । अलैँचीको पातमुनि बसेर पात खाने किरा रातको समय बढी सक्रिय हुन्छ ।

फागुनदेखि उक्त किराको प्रकोप शुरु हुन्छ । गत वर्ष नियमित वर्षा हुने समयसम्म किराको सामान्य प्रकोप रहेकामा यस वर्ष अलैँची बाली नै सखाप पार्दै लगेको याङवरक–२ का अलैँची कृषक प्रेमराज योङहाङले बताए ।

उक्त किराको प्रकोपले स्थानीयवासी चिन्तित बनेका छन् । आफ्नो करिब २०० रोपनी क्षेत्रफलमा लगाइएको अलैँचीको बगान सुकेर गएको कृषक समीर बेघाको भनाइ छ । प्रकोप शुरु भएको केही दिनमै सयौँ रोपनी क्षेत्रफलमा फैलिएको अलैँची बगान सुकेर गएको अर्का कृषक भीम केरुङले बताए ।

यो किराले शुरुमा अलैँचीको पात खान्छ । किराले पातपछि डाँठ र फूलसमेत खाएपछि यहाँका अलैँची धमाधम मर्न थालेका छन् । अलैँचीमा लागेको यो प्रकोप एक प्रकारको पुतलीको लार्भाबाट फैलिएको हो ।

पुतलीको फुलबाट बढेकोे लार्भा किराको रूपमा परिवर्तन भएपछि त्यसले अलैँचीको पात र अन्य भाग खाने गरेको पाइएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले वताउनुभयो । यो समस्या गत वर्ष पाँचथरको फिदिम नगरपालिका–८ मा समेत फाट्टफुट्ट देखिएको उनको भनाई छ ।

उक्त किराको प्रकोप बढ्दै गए केही महिनामै आफ्नो वडाका सबै अलैँची बगान सखाप हुने याङवरक गाउँपालिका–२ का वडाध्यक्ष देउकुमार योङहाङले बताए । नयाँ किराको प्रकोपले अलैँचीमा महामारीको रूप लिन नदिन आफूहरुले पहल थालेको वडाध्यक्ष योङहाङको भनाइ छ । किराको प्रकोपले अलैँची बगान सुक्दा हालसम्म एकै वर्षमा करिब रु ५० लाख बराबरको आम्दानी गर्ने अलैँची बगान सखाप भएको वडाध्यक्ष योङहाङले बताए ।

अलैँचीमा नयाँ प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्र पाँचथर र याङवरक गाउँपालिकाको प्राविधिक टोलीले स्थलगत निरीक्षण, रोग पहिचान र विषादी छर्ने काम थालेको छ । यो समस्याबाट अलैँचीलाई जोगाउन गाउँपालिका र कृषि ज्ञान केन्द्रबाट आसपासको क्षेत्रमा विषादी छर्न तथा प्रकोप फैलनबाट बचाउन प्राविधिक टोली खटाइएको ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिए । किराको प्रकोप हालसम्म करिब १५ सय रोपनी अलैँची बगानमा फैलिएकाले नियन्त्रण गर्न सकिने प्राविधिकले बताएका छन् ।

जिल्लाका अन्य क्षेत्रमा अलैँचीमा विभिन्न रोगले उत्पादनमा ह्रास आए पनि फलैँचामा यस्तो समस्या देखिएको थिएन । “अन्न फल्ने बारीमा अलैँची रोपियो तर यसपालि किराले पूरै बगान सखाप पा¥यो”, स्थानीय कृषक धनकुमार बेघाले भने । पाँचथरमा दुई हजार ९२० हेक्टर क्षेत्रफलमा अलैँची बगान रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यहाँ अलैँचीको उत्पादन बढाउन एक स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एक स्थानमा अलैँची ब्लक विकास कार्यक्रम र पाँच स्थानमा अलैँची पकेट क्षेत्रका कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन् । रासस