अन्त्येष्टिमा लगिएको शिशु चल्मलाएपछि…

साउन २६,काठमाडौं –  देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः भरतपुर अस्पताल फर्काइएको छ । संगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई पनि उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खाल्डोमा राख्ने क्रममा एउटा शिशु चल्मलाएपछि अस्पताल फर्काइएको हो । शंकास्पद देखिएपछि अर्को शिशु पनि उत्खनन गरी परीक्षणका लागि ल्याइएको प्रहरीले बताएको छ । अस्पताल फर्काइएको शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् ।
जन्मिएका शिशुमध्ये एकको मृत्यु भएको र अर्को एक जीवित रहेको अवस्थामा अस्पतालले घर पठाएको थियो । घर पुगेपछि अर्को शिशु पनि मृत्यु भयो भनी अन्त्येष्टिका लागि देवघाट लगिएको थियो ।

घटना शंकास्पद देखिएपछि प्रहरीले शिशुका बुबा, फुपू दिदी र थप एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको मल्लले बताए । अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।
घटना शुक्रबार भएको हो । बिहीबार ती बच्चा जन्मिएका थिए । गर्भ रहेको सात महीनाको समयमा जुम्ल्याहा शिशुको जन्म भएको थियो ।