अध्यक्ष ओलीले विधि पद्धति र संस्थागत प्रणाली तोड्नुभयो – अष्टलक्ष्मी शाक्य

बैशाख १५, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका राजनीतिक दलसम्बन्धी अधयादेश र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको नेकपाभित्र विवाद भएपछि फिर्ता गरेका छन् । राजनीतिक दल फुटाउन सजिलो हुने गरी अध्यादेशसँगै समाजवादीका संसद डा सुरेन्द्र यादवको अपहरणको आरोप लागेपछि प्रधानमन्त्री ओली झन् धेरै आलोचित छन् । यी विषयबारे पार्टीमा गम्भीर छलफल हुनुपर्ने माग गर्नेमा पर्छिन् नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य । नेकपाभित्र रहेका अन्तरविरोधका विषयमा शाक्यसंग गरिएको कुराकानी

तपाईंहरुले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्र नै लेखेर  स्थायी कमिटी बैठक माग गर्नुभयो। बैठक बस्ने भनिएको छ। यति भएपछि तपाईंहरू अहिले त खुसी हुनुहुन्छ होला नि? 
खुसी वा दुखी हुने भन्दा पनि दुई अध्यादेशको विषय गम्भीर रुपमा उठिसकेको छ। ती विषयमा स्थायी कमिटीमा व्यापक छलफल हुनुपर्‍यो। किन ल्याउनु पर्‍यो यतिबेला अध्यादेश? सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा कुनै निर्णय नै नगरी विधि प्रक्रिया मिचेर हातारहतार किन ल्याउनु पर्‍यो? किन फिर्ता गर्नुपर्‍यो? त्यसको जवाफ पार्टीमा दिनुपर्छ। उहाँ (केपी ओली) झन् पार्टीको अध्यक्ष हो। त्यसो हुँदा झन् जवाफदेही हुनुपर्ने छ।

पार्टीलाई नै थाहा नदिएर पार्टीको विधि पद्धति प्रणालीलाई मिचेर एक्लाएक्लै आफ्नै खुसीले निर्णय गर्नु यो भन्दो बेठीक कुरा के हुन सक्छ? अब पार्टी यसरी चल्दैन। केपी ओलीलाई हामी सबैले महाधिवेशनबाट बनाएको अध्यक्ष हो। एमाले माओवादी एकतापछि एकिकृत पार्टीको अध्यक्ष बनायौं। शक्तिशाली पार्टीको अध्यक्ष भइसकेपछि उहाँले झन् पार्टीलाई एकीकृत र बलियो बनाउनु पर्ने हो। पार्टीका संस्थागत विधि पद्धतिलाई स्थापित गर्नुपर्ने हो। अध्यक्षले नै विधि पद्धति र संस्थागत प्रणाली तोड्नुभयो भने कस्तो कम्युनिस्ट पार्टी बन्ला?

अध्यक्षको यस्तो रवैयाले हिजो पार्टीमा त्याग तपस्या बलिदान गर्ने इमान्दार नेता कार्यकर्तालाई अप्रमाणित गर्ने काम भयो। यी विषयमा पार्टी बैठकमा छलफल गर्नुपर्‍यो। उहाँ बिना संकोच पार्टीमा जवाफदेही बन्नुपर्छ। स्थायी कमिटी बैठकमा सविस्तार बताउनु पर्छ। कमीकमजोरी स्वीकार गर्नुपर्छ। आत्मआलोचित हुनुपर्छ। तब मात्र पार्टी दरो ढंगले अघि बढ्छ। अध्यक्षले स्थायी कमिटी नबसेर आलटाल गर्ने टार्न कुनै हालतमा पाउनुहुन्न। हामी मान्दै मान्दैनौं।

प्रधानमन्त्रीले नै अध्यादेशबारे प्रतिरक्षा गर्दै ‘पार्टी बन्ने प्रक्रियामा कानुन बाधक बन्नु हुँदैन। त्यसलाई परिस्थितिअनुसार परिमार्जन गर्नुपर्ने थियो। हाम्रै साथीहरुले कुरा बुझेनन्। अब मैले अध्यादेश फिर्ता गरिसकें। महामारीपछि बैठक बसौंला’ भनिरहनु भएको छ, हैन त? 
कोरोनाजस्तो विश्वव्यापी महामारी भइराखेको बेला नेपाल लकडाउन भएको बेला आमजनता घरभित्रै उकुसमुकुस अवस्थामा बसिराखेका छन्। उहाँले त्यस्तो महामारीका बेला अध्यादेश ल्याउन हुने? गलत सोच गलत नियतबाट संविधान विपरीत संघीय लोकतान्त्रिक व्यवस्था नै धरापमा पार्नेगरी ल्याउन हुने? बैठक बोलाएर प्रस्ट पार्न नहुने? उहाँको कस्तो खालको नैतिकता हो? कस्तो खालको जवाफदेहीपन हो? हामी मान्न सक्दैनौं। यो पार्टी निर्माणमा उहाँको मात्रै त्याग तपस्या दुःख मेहनत लागेको छैन। हामीले पनि यो पार्टी निर्माणमा धेरै दुख पसिना बगाएका हौं। अरु थुप्रै नेता कार्यकर्ताले पार्टी निर्माणमा त्याग तपस्या बलिदान गरेका छन्।

यस्तो बेला उहाँले बैठक नबोलाएर आलटाल गरेर हुँदैन। ढिलो गर्न पाइँदैन। आजभोलि नै उहाँले बैठक बोलाएर जवाफ दिनुपर्छ। यस्तो गरे पार्टी र उहाँ दुबैलाई राम्रो हुन्छ। होइन भने नैतिकताका आधारमा पदमा बस्न सुहाउँदैन। कोरोना जस्तो महामारीमा एकक जुट भई लड्नु पर्नेमा उहाँ पार्टी फुटाउदै हिँड्न मिल्छ? आफ्नो पार्टीपनि कमजोर बनाउन मिल्छ? यस्तो खालको गलत सोच कहाँबाट आयो? त्यो कुरा हामीलाई भन्नु पर्‍यो । यी सबै पार्टी कमिटीभित्र हुन्छ। यसैले हामीले लिखित रुपमा स्थायी कमिटी बैठक बोलाउन माग गरेका हौ। यसबाट हामी दायाबाया एक इन्च हट्दैनौ। बैठक बोलाउनु हुन्छ भन्नेमा ढुक्क छु।

यदि पार्टी अध्यक्ष केपी ओलीले बैठक बोलाउनु भएन भने के गर्नुहुन्छ? 
त्यसो भए पार्टीमा विधिपद्धति छ। त्यसमा पस्नैपर्छ। यसअघि नै भनिसकें अहिले पार्टीमा दुई अध्यक्ष हुनुहुन्छ। त्यो अर्का अध्यक्षले  बोलाउन सक्नुहुन्छ।  तर, म त्यसरी जान चाहन्नँ। उहाँ (प्रधानमन्त्री) स्थायी कमिटी बैठकमा आउनैपर्छ। उहाँले बैठक डाक्नैपर्छ। उहाँ पार्टीको सम्मानित नेतापनि हो  प्रधानन्त्री पनि हो। उहाँले बैठक बोलाउनु हुनेछ भन्नेमा विश्वस्त छु।

फेरि उहाँलाई लाग्ला बैठकमा म तल पर्ने भएँ। मैले साथीहरुको कुरा किन सन्नुपर्‍यो? मैले जे फिर्ता लिनुपर्ने हो, त्यो लिइसकें भन्ने हुनसक्छ। यस्तो भनेर छुट पाइँदैन। उहाँले स्थायी कमिटी बैठक बोलाउनु हुनेछ। यदि बैठक बोलाउनु भएन भने अर्को विधि प्रयोग गर्छौं।

अर्को विधि भनेको अर्का अध्यक्ष प्रचण्डले बैठक बोलाउने भन्नुभएको हो?  
यसअघि स्थायी कमिटी बैठक केपी ओली सहभागी नहुँदा अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न भएकै हो। तर, अर्का अध्यक्ष छन् भनेर त्यसरी बैठक बस्नु हुँदैन। केपी कमरेडले प्रधानमन्त्रीको जिम्मेवारीमा बसेर गर्नै नहुने गल्ती गर्नु भएको छ। त्यो बैठकमा खुलस्त राख्नु पर्‍यो नि। त्योबाट पन्छिन कहाँ पाइन्छ?

उहाँको सोचैमा गम्भीर त्रुटि देखिएको छ। यो उहाँले अत्यन्तै घातक काम गर्नुभएको हो। यो गतिविधि गरेको देख्दा आफ्नै अध्यक्षप्रति घृणा जाग्छ। कम्युनिस्ट पार्टीमा नैतिक पतन हुनेगरी गल्ती गरेर सजिलै छुट दिने कुरा हुनै सक्दैन। यसले पार्टीलाई धेरै अप्ठ्यारोमा पार्छ। किन भने तत्काल स्पष्ट हुनुपर्छ। गल्ती गर्नेलाई कारवाही गर्ने तहसम्मको पुग्नुपर्छ। तब मात्रै कम्युनिस्ट पार्टी सिद्धान्तमा चलेको पार्टी जस्तो हुन्छ। हामीले कमरेड पुष्पलाललाई सम्झिउ न, कति दुःख गरेर पाँच जना मिलेर पार्टी निर्माण गर्नुभयो। त्यही एमाले पनि यहाँसम्म आयो, अहिले माओवादीसँग एकता भएर यति ठूलो पार्टी निर्माण भयो। लाखौं नेता कार्यकर्ताको त्याग  र बलिदान गरेर निर्माण भएका पार्टी हुन्। आफू अध्यक्ष भएँ भन्दैमा प्रधानमन्त्री भएँ भन्दैमा मनपरी गर्न पाइन्छ?  हामी सम्पूर्ण विषयको हिसाव किताब स्थायी कमिटी बैठकबाट लिन्छौं।

समाजवादी पार्टी फुटाउन सांसद सुरेन्द्र यादव अपहरणमा पार्टीकै केन्द्रीय सदस्य महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनाललगायत  संलग्न भएको घटना बाहिर आएको छ। यो घटना प्रधानमन्त्रीकै निर्देशनमा भएको हो भन्ने कुरा छ। यस्तो मान्न सकिन्छ कि सकिँदैन? 
बैठकमा सबैले खुलस्त रुपमा राख्नु हुनेछ। किनभने पार्टीलाई अप्ठ्यारोमा पार्न पाइँदैन। गणतन्त्रलाई कसैले अप्ठ्यारोमा पार्न मिल्दैन। सत्तामा बसेर अपराधिक मानसिकता बोकेर अपराध गरेको अवस्था छ, हिजोकै जस्तो झभल्को दिइराखेको छ। हामीले यति ठूलो बलिादनबाट स्थापित  गणतान्त्रिक व्यवस्थामा छौं। सत्तामा बसेर अपराधिक मनसिकता कहाँबाट प्रेरित भयो? यसलाई केही होइन भन्नेगरी माफी नै दिने आवस्था आउँदैन। यसरी पार्टी चल्दै चल्दैन। प्रधानमन्त्रीको यस्तो क्रियाकलापले इमान्दार कार्यकर्ता माथि ठूलो चोट पुर्‍याउँछ।

प्रधानमन्त्रीले दल फुटाउन सहज हुनगरी कुन उदेश्य कुन नियत राखेर ल्याएका हुन जस्तो लाग्छ? 
उहाँले कुन अर्थमा कहाँबाट प्रेरित भएर ल्याउनु भयो। त्यो उहाँले नै जान्ने कुरा हो। हामीलाई के थाहा? उहाँले अचानक पार्टीमा छलफल नै नगरी अध्यादेश ल्याउनुभयो। त्यो सचिवालय, स्थायी र केन्द्रीय कमिटीमा छलफल गरेर ल्याउनु भएको होइन। अर्को अध्यक्षलाई थाहा छैन।

अध्यक्षहरूलाई नै थाहा नभएपछि स्थायी कमिटीलाई थाहा हुने कुरै भएन। यति धेरै जनताले विश्वास गरेर बहुमत प्राप्त गरेको बेलामा फुटाउन खोज्ने? यो सबै विषयलाई केही होइन भन्ने ठानेर सानासाना पार्टीलाई फुटाउँदै जाने यस्तो पनि हुन्छ? हामीले राजतन्त्रसँग लडेर गणतन्त्र ल्याएको उहाँले विर्सनुभयो। उहाँलाई के पुगेन पार्टी फुटाउँदै हिड्ने? आफ्नो पार्टीलाई शिर निहुर्‍याउनेगरी तल झार्न मिल्छ?

सरकारले एकपछि अर्को गर्दै विवादित निर्णयहरु गर्दै गएको छ। प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरु अनियमिततामा मुछिदै गएका छन्। यस्तो हुँदै जाँदा के ओलीको विकल्प खोज्नुपर्छ भन्ने अवस्थामा पुगेको हो? 
एकदम प्रष्ट कुरा प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्छ। पहिलो कुरा उहाँ बिरामी हुनुहुन्छ। बिरामी हुँदाहुँदै पनि म सक्छु मलाई साथ दिनुहोस भन्नुभयो। हामीले साथ दिएकै हो। प्रधानमन्त्री भएर काम गर्न सक्छु भन्नु भयो। विरामीलाई धेरै टेन्सनपनि दिनु हुँदैन भनेर साथ दियौं। मान्छेका राम्रा नराम्रा दुबै पाटा हुन्छन्। यदि राम्रो मान्छे हो भने ढिलोचाँडो परिणाम आउँछ। बिरामी मान्छेलाई भन्नपनि अप्ठ्यारो। तर, बिरामी भनेरपनि सुख शान्तिसँग बस्ने स्थिति छैन। बिरामी भनेर छुट दिन थाल्यो भने लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने स्थिति आयो।

उहाँको गतिविधिले देशको विकासको गतिविधि ठप्प हुने स्थिति आयो। जनताका दैनन्दिन समस्याहरु बढ्दै जाने भए।  यी तमाम कुराहरु छन्। संविधान कार्यन्वयन गर्नु पर्नेछ। संविधान अनुकुल कानूनहरु निर्माण गर्नु पर्नेछ। कोरोनाले देशको आर्थिक स्थिति डामाडोल हुने स्थिति देखिएको छ। आर्थिक मन्दी होला जस्तो छ। सामाजिक अराजक्ता बढ्ला जस्तो छ। मान्छेहरु उकुसमुकुस अवस्थामा घरमै बसेका छन्। भोलि उनीहरु निरास हुन सक्छन्। अरु मनोवैज्ञानिक समस्याहरु आउँन सक्छन्, त्यसलाई कसरी व्यवस्थापन गर्ने? यस्ता तमाम विषयहरु व्यवस्थापन गर्नुपर्ने छ। भविष्यका धेरै गम्भीर विषयमा छलफल गर्नु पर्ने विषयहरु छन्। यी तमाम विषयलाई व्यवस्थापन गर्न कठिन देखिने भएकाले उहाँलाई आराम दिन खोजेको हो।

अस्वस्थ प्रधानमन्त्रीले स्वस्थ्य देशको नेतृत्व गर्न सक्दैनन् भन्ने तपाईंको निष्कर्ष हो? 
एउटा उहाँ अस्वस्थ (प्रधानमन्त्री) हो। हामी सबैले साथ दिनुपर्छ भनेपछि नेतृत्व गर्नुभयो। उहाँले केही राम्रो काम गर्नुहोला भन्ने थियो। उहाँ अस्वस्थ्य हुनुहुन्थ्यो नै त्यसमाथि गलत नै सोच राख्न थाल्नुभयो। अत्यन्तै घात सोच आयो उहाँमा। उहाँको शैली राम्रो ढंगले अगाडि बढ्ने भन्दापनि गलत गलत कुरातिर ध्यान गयो। सांसद जस्तो व्यक्तिलाई अपहरण गर्नतिर लाग्नुभयो। उहाँ बिरामी मात्रै होइन, सोचमै खोट देखियो। उहाँमा गलत सोच र गलत नियत नै देखियो।

प्रधानमन्त्रीका यस्ता क्रियाकलापले दक्षिणपन्थीहरुलाई नै साथ पुगेको छ। यसले गर्दा दक्षिणपन्थीहरुले टाउँको उठाउन थाले भनिन्छ नि? 
अरुलाई दोष दिने भन्दा आफैं बलियो हुनुपर्छ। हामी आफैं एक जुट हुनु पर्ने हो। अहिलेको अवस्थामा नेकपा मात्रै होइन सबै एक जुट भइ बलियो हुनुपर्छ। हामीहरु आ–आफू मिल्न सक्दैनौं। हामी आफैंभित्र समस्या छ। सोचमा गम्भीर खोट छन्। यति ठूलो परिवर्तन भएको छ, त्यसलाई नेतृत्वले आत्मसाथ गर्न सकेको छैन। गणतन्त्रिक सोच बोक्न सकेका छैन। त्यही सामन्ती ढर्रा बोकेर हिँड्न निरंकुशलाई फाइदा पुग्नेगरी काम गर्दा समस्या देखा पर्‍यो। कमजोर धरातलभित्र कमजोर राजनीतिक दलभित्र खेल्ने अवस्था पाउँछन्।

प्रधानमन्त्री र मन्त्रीहरुले सरकारले सजकता अपनाएको हुनाले कोरोनाबाट एक जनाको ज्यान गएको छैन भन्दै आएका छन्। सरकारले राम्रा काम गर्दा गर्दै पनि पार्टीबाटै सहयोग भएन भन्ने आरोप छ नि? 
सिंगो पार्टीले सहयोग नगरेको भए यस्तो हुन्थ्यो? सरकारको निर्देशनले मात्रै सरकार सफल भएको ठान्नु नै एकलकाटे सोच हो। त्यो गलत सोच हो। यति धेरे पार्टीका संघ संगठनले साथ दिएका छन्। पार्टी पक्ति भातृ संगठनहरु रातदिन नभेर लकडाउनलाई सफल बनाउन लागेका छन्। राहत वितरणदेखि सर्वसाधरणको व्यवस्थापनमा खटेका छन्। सबै नलागेको भए सफल हुने नै थिएन।

मैले भन्न खोजेको सोच यही हो। उहाँको गलत सोच भनेको यही हो। अरुले गरेको राम्रो काम देख्दै नदेख्ने छ। आफूले मात्रै सबै थोक गरे भन्ने छ। मैले मात्रै राम्रा काम गरे ठान्ने सोच छ। त्यही गलत छ। यही सोच नै एकांगी भयो। राम्रो गर्दा प्रशंसा गर्न जान्नुपर्छ। राम्रो कुरालाई आत्मसाथ गर्ने प्रेरित गर्न जान्नुपर्छ। उहाँमा यही समस्या छ।

प्रधानमन्त्रीले आफै १८ घण्टासम्म रातदिन खटेको छु कसैले देखेन भन्दै गुणसो गर्दै छन्? 
प्रधानमन्त्रीको जिम्मेवारी भएपछि त्यो भन्दा धेरै खट्नु पर्ला। अनेकौ समस्यापनि पर्न सक्छन्। देशकै सम्पूर्ण भार बोकेको प्रधानमन्त्रीले खट्नै पर्‍यो। यो ठूलो कुरा भएन। मैले यति गरें उति गरें भनेर प्रशंसा चाहने कुरा नै होइन। उहाँलाई देश बनाउने जिम्मेवारी दिएको हो। सबैलाई मिलाएर समृद्धिको दायित्व पूरा गर्ने जिम्मेवारी दिएको हो। उहाँ भन्दा अरु खटेका छन्। हामी आफ्नो ठाउँमा खटेकै छौं। कोही कम खटेको होला, कोही धेरै खटेको होला तर को खटेको छैन? प्रधानमन्त्रीले आफूलाई मात्रै केन्द्रबिन्दुमा राखेर प्रशंसा गर्न खोज्नु सुहाएन। यो उहाँको आजदेखि होइन, उहिल्यैदेखि संकिर्ण खालको सोच हो। गुटगत मानसिकता उस्तै छन्। गुटगत मानसिकताले सिंगो पार्टीलाई आत्मसाथ गर्न सक्नुभएन।

पार्टीलाई विधि विधानमा नलग्ने अराजकता ल्याउने सरकार एकपछि अर्को विवादित निर्णयहरु गर्ने भनेर प्रधानमन्त्रीलाई आरोप लगाउनु भयो। तर, त्यो पार्टीलाई विधि विधान र प्रणालीमा ढाल्न तपाईं जत्तिको नेताको उत्तिकै भूमिका होला नि?  
उहाँलाई मात्रै आरोप लगाएको होइन। हाम्रो पनि जिम्मेवारी हो। तर पार्टीलाई विधान अनुसार चलाउने अध्यक्षको नाताले पहिलो जिम्मेवारी उहाँको हो। पार्टीलाई विचारयुक्त, अनुशासित, नैतिकवान, चरित्रवान बनाउने जिम्मेवारी नेतृत्वकै हो।

उहाँले कू काममा कति समय खर्चिनु भयो? यो छलफलको विषय हो। हामीले यसअघिको स्थायी कमिटी बैठकमै पार्टीलाई विधिबाट चलाउँ कमजोर भयो कमरेड भनेका थियौं। विधानमा ३-३ महिनामा स्थायी कमिटी भनिएको छ ६-६ महिनामा केन्द्रीय कमिटी बस्नुपर्छ। केन्द्रीय कमिटी ठूलो छ भनियो बस्न समस्या छ भनेपछि छुट दिएका छौ। स्थायी कमिटी बैठक नियमति बस्नुपर्ने होइन? प्रधानमन्त्रीले नै विधि विधान मिच्नु भएको छ। हामीले होइन।

पार्टीको सबै विधि प्रधानमन्त्रीले मिच्नुभयो भन्दै गर्दा उतातिर प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल वामदेव गौतम लगायत नेताहरुले किन प्रधानमन्त्रीलाई विधिमा ल्याउन नसक्नु भएको हो?
नेताहरुलाई भन्दै आएकी छु। पार्टीलाई वैचारिक अनुसाशित बनाउने सचिवालयमा  गम्भीर छलफल गर्नुपर्‍यो। सचिवालय योजना बनाएर लाग्नुपर्‍यो। पार्टीलाई वैचारिक स्कुलिङ चलाउने योजना बनाएर लाग्नुपर्ने थियो। यति विशाल पार्टी भएको छ, त्यो आफैंमा गर्वको विषय छ। पाँच जनाबाट सुरु भएको कम्युनिस्ट पार्टी विशाल बनेको देख्दा आफैंलाई गर्व लाग्छ। पार्टीलाई एउटा वैचारिक संगठिनक रुपमा व्यवस्थित बनाउने कुरा सचिवालयमा ब्यापक छलफल हुनुपथ्र्यो। त्यो अभाव देखियो। सचिवालयले सरकारका कामलाई प्रथमिकता दिन खोजेको जस्तो देखिने। उता पार्टी कमजोर हुँदै जाने स्थिति भयो।

अरु  नेताहरुले प्रभावकारी भूमिका खेल्नुपथ्र्यो त्यो कमजोरी देखिन्छ। मूल कुरा नेतृत्व नै हो। नेतत्व भनेको मियो हो। पार्टीको योजना बनाउनेदेखि जिम्मेवारी बाँडफाँट सबैमा नेतृत्वको हात हुन्छ। त्यति मात्रै होइन, कसले कति काम गर्न सक्छ? कसको कति क्षमता छ? भन्ने कुरा मूल्यांकन गरेर जिम्मेवारी दिने नेतृत्वकै काम हो। यहाँ पार्टीमा काम गरेपनि नगरेपनि केही मूल्यांकन छैन। नेतृत्व सधैं काम नगर्नेको घेरामा पर्नु हुन्छ? काम गर्नेलाई मतलब नै गर्नुहुन्न। पार्टी सुधार्न धेरै गर्नुपर्ने छ। यदि नेतृत्व सच्चिएन भने हामी सबै डुब्छौ, जहाजै डुब्छ।

साभार   नेपाल लाइभ डट कम