अत्यधिक वायु प्रदूषणपछि दिल्लीमा जोर–बिजोर नियम लागु

कात्तिक १८, काठमाडौं – वायु प्रदूषणको प्रकोपसँग

जुझिरहेको भारतको राजधानी नयाँ दिल्लीमा जोर–बिजोर गाडीको नियम कडाइका साथ लागु गरिएको छ ।

सोमबार बिहानैदेखि यो नियम लागु गरिएको मुख्य मन्त्री अरविन्द केजरीवालले जनाएका छन्। मुख्यमन्त्री केजरीवालले आफ्नो, परिवारको र सहरवासीको स्वास्थ्यका लागि यस नियममा बस्न सबैलाई अनुरोध गरेका छन् ।

यस नियमको कडाइका साथ पालना गर्नका लागि दिल्ली ट्राफिक प्रहरी तथा यातायात विभागका ६०० भन्दा बढी टोलीलाई परिचालन गरिएको छ ।

यस नियमको उल्लङ्घन भएमा चार हजार रूपैयाँसम्म जरिवाना तोकिएको छ। यो नियम आगामी नोभेम्बर १५ सम्मका लागि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म तोकिएको हो ।

यो नियम दुई–पाङ्ग्रे, विद्युतीय गाडी, महिला मात्र वा १२ वर्ष मुनिका बालबालिका वा शारीरिक रूपले अशक्तलाई बोक्ने गाडी तथा राष्ट्रपति, प्रधानमन्त्री र इमर्जेन्सी गाडीलाई छुट दिइएको छ। तर, दिल्लीका मुख्य मन्त्री तथा मन्त्रीहरूलाई भने यो छुट दिइएको छैन।

सोमबार बिहानसम्म दिल्लीको वायु गुणस्तर सूचकाङ्क जोखिमपूर्ण थियो।